अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

मधुबहार

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ फागुन २९ गते २२:२५ मा प्रकाशित

बोकेर नौलो ऋतुले बहार
लाएर आयो मधुपुष्प हार
बिदा भए पात सबै पुराना
छ पालुवाभित्र उमङ्ग नाना ।१।

सरोजको माथ तडागमा छ
हिमाल अग्लो जल छालमा छ
पतङ्गका फर्फर पङ्खलाई
छ बाग तान्दै रसले भुलाई ।२।

ऐना कहाँ कञ्चन छन् तलाउ
अचम्मका छन् तरु हाउभाउ
आरोग्य दिन्छन् लहरा, बुटाले
सद्-ज्ञान छर्छन् गिरिका गुफाले ।३।

म माथ थापूँ कुन निर्झरीमा ?
गला खुलाऊँ कति मञ्जरीमा ?
हालौँ कि गौरी उनमा अँगालो
तानेर तारा करको गरालो !४ ।

सौन्दर्यको बाढ अहो ! सुसायो
टेकेर काँडा पद-पुष्प आयो
छन् बैँस कस्दै कतिले तुनामा
संवाद गर्लान् कतिले कुनामा ! ५।

पग्लेर माया कतिमा खन्याऊँ ?
सुवास सुँघ्दै कति सुम्सुम्याऊँ ?
चिम्लेर आँखा कसरी निदाऊँ ?
टिपेर कस्तो फलले अघाऊँ ?६।

विचित्र यी चित्र कहाँ छ शिल्पी !
छ खेल खेल्दै किन भित्र अल्पी ?
धरा जरा यी कति धन्य सारा
सबै- सबै छन् मनभित्र प्यारा !७।

————————
गोरखा, लप्सीबोट;हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।