अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

एनआरएन कोलोराडो च्याप्टर महिला कार्यक्रममा भाँडभैलो

बिआरटीनेपाल २०७८ फागुन १९ गते १७:५९ मा प्रकाशित

कोलोराडो । एनआरएन कोलोराडो च्याप्टरद्वारा यही मार्च ५, २०२२ शनिवारमा गर्ने भनिएको अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम कोलोराडो च्याप्टर अध्यक्ष आरसी पन्तको फोहोरी राजनीतिका कारण अन्योलमा परेको जानकारी एनआरएन कोलोराडो च्याप्टरकी सल्लाहकार तथा कार्यक्रम संयोजक सरिता गुरुङले बिआरटी नेपाललाई दिनु भएको छ ।

अध्यक्ष पन्तले सुरु देखि नै कमिटीका सदस्यहरू बिच झैँ-झगडा गराई फुट ल्याउने अनैतिक काम गरेको र आफू खुशी एकलौटी ताना शाही निर्णय गर्ने गरेको कुरा उहाँले बताउनु भएको छ । अध्यक्ष पन्तबाट मिटिङमा भएका गोप्य कुराहरू बाहिरियो भनेर पहिले आफै ढोल पिट्दै हिँड्ने र पछि लाजै पचाएर समितिमा भएका मर्यादित महिलाहरू माथि नै शङ्का गर्ने र लाञ्छना लगाउने जस्ता निन्दनीय काम भएको छ, गुरुङले भन्नुभयो । कार्यक्रममा सम्मान गर्न लागिएको ५ विशिष्ट महिलाहरूको बारेमा कमिटीमा लामै विवाद चर्केको र कुनै प्रक्रिया नपुराई सम्मान दिन लागेको लज्जास्पद खुलासा पनि भएको छ ।

अध्यक्ष पन्त यस अघि पनि धेरै विवादमा आई सकेका व्यक्ति हुन् । यो भन्दा पहिले बिआरटी नेपाल र नेपाली घरसँगको सहकार्यमा भएको घुम्ती कन्सुलर सेवा शिविरमा पनि अन्य दुई संस्थाका अध्यक्षसँग परामर्श नलिई आफै मन-खुसी बाँसुरी बजाउँदै कार्यक्रम गरेका थिए । जसबाट बिआरटी नेपालका कार्यकारी सम्पादक शैलेश पोखरेलले पन्त कोलोराडो च्याप्टर पदमा रहुन्जेल सम्म उनीसँग कुनै पनि सहकार्य नगर्ने भएका छन् ।

अध्यक्ष पन्तले मङ्गलवार साँझ कार्यक्रम संयोजक सरिता गुरुङलाई फोन गरेर वहाँकै कार्य समिति र बोर्डका केही साथीहरूले महिला कार्यक्रम प्रति असन्तुष्टि जनाएको र विभिन्न सङ्घ संस्थाका अध्यक्षहरूले हामीले पनि कार्यक्रममा बोल्न पाउनु पर्छ हैन भने कार्यक्रममा सहभागिता नजनाउने कुरा बताएका थिए । साथै कार्यक्रममा हुलदङ्गा र कुटाकुट होला भन्ने आशङ्काले सुरक्षा व्यवस्था पनि गर्न लागेको जानकारी दिएका छन् । पन्तले यस अघि निर्णय भएको कार्यक्रम बाहिरिएको र आफूलाई आइसिसी र एनसिसिबाट धेरै दबाब आएकोले यो एनआरएनको कार्यक्रम हो अब पुरै ढाँचा परिवर्तन हुन्छ र कार्यक्रम तालिका शनिवार बिहान मात्र उपलब्ध गराउने जस्तो कुरा सुनाएर आफ्नो ठुलो अपमान गरेको कुरा उक्त कार्यक्रम कि संयोजक सरिता गुरुङले बिआरटी नेपाललाई भन्नुभयो ।

आफू डेढ महिना देखि यस अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सफल पार्न अहोरात्र खटेको तर अन्त्यमा आएर पन्तको जबरजस्ती र गैर जिम्मेवारीपूर्ण व्यवहार सहित उनकै मुखबाट कार्यक्रममा भाँडभैलो हुने आशङ्का सुन्न परेकोले समाज र दिदी बहिनीहरू समेतको प्रतिष्ठालाई ध्यानमा राखी विशेष सचेतता अपनाउनु पर्ने देखिएकोले हाललाई यो कार्यक्रम नै स्थगन गर्नु पर्ने सुझाव दिँदै आफू समितिबाट बाहिरिएको कुरा कार्यक्रम संयोजक सरिता गुरूंगले बिआरटी नेपाललाई बताउनु भएको छ ।

 

प्रतिक्रिया