अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

एमसीसी छिटो अनुमोदन गर्नुपर्ने कांग्रेसको निष्कर्ष, अमेरिकाले चासो राखेको तर दबाब नदिएको जिकिर

बिआरटीनेपाल २०७८ माघ २८ गते ६:५५ मा प्रकाशित

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विबादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)यथासक्य छिटो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । अन्य दललाई समेत सहमत गराएर एमसीसी पास गर्नुपर्नेमा कांग्रेसका अधिकांश नेताहरूले जोड दिएका छन् । बिहीवार र शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी अनुमोदनमा ढिलाइ गर्न नहुने धारणा राखेका हुन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई लामो समय अन्योलमा राख्न नहुने पार्टीको धारणा रहेको जानकारी दिनुभयो ।

‘एमसीसी बारे सदस्यहरूबाट आआफ्नो धारणा व्यक्त भएको छ । कसरी अरु दललाई सहमत गराएर पारित गर्ने भन्ने छलफल भएको छ’ महतले भन्नुभयो, ‘हामीले नै प्रस्ताव गरेको विषय हो, हामीले प्रस्ताव गरेको प्राथमिकता क्षेत्रमा सहयोग आउँदैछ । अन्योलमा राख्नु हुँदैन भन्ने पार्टीको धारणा छ ।’कांग्रेस प्रवक्ता महतले एमसीसी अनुमोदनका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले के कारणले एमसीसी अप्ठेरोमा परेको हो भनेर नेताहरूसँग जिज्ञासा राखेको बताउनुभयो ।

‘नेताहरूलाई फोन आएको छ, अवस्य पनि उहाँहरूको चासो र जिज्ञासा छ, तपाईंहरूले प्रस्ताव गरेको क्षेत्रमा सहयोग बढाएका हौं । पास गर्ने प्रतिबद्धता जनाउनु भएको हो । के कारणले अप्ठेरोमा परेको छ भनेर प्रश्न गर्नु अस्वभाविक होइन,’ महतले भन्नुभयो ‘हाम्रो तर्फबाट अगाडि बढाउने र चाडो टुंगो लगाउने कोशिष भइरहेको छ भन्ने जवाफ दिएका छौं ।’

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेतालाई सहायक विदेशमन्त्री लुले बिहीवार फोन गरेका थिए । पूर्व परराष्ट्र मन्त्री समेत रहेका महतले अमेरिकी विदेशमन्त्रीले एमसीसी अनुमोदनका लागि गरेको आग्रहलाई दवाव भन्न नमिल्ने जिकिर समेत गर्नुभएको छ ।

‘यसलाई दवाव भन्न मिल्दैन, बाबुराम भट्टराई देखि केपी ओलीसम्म सबैको सहभागिता छ । कुनैपनि पार्टीहरूले नकारेका छैनन् । हामी सबै सहभागि भएको निर्णय प्रक्रियाबाट एमसीसी अगाडि बढाउन किन ढिला भयो भन्ने प्रश्न आउने कुरालाई अस्वभाविक रुपमा लिनु हुँदैन’ महतले भन्नुभयो। शुक्रवारको बैठकमा डा. शेखर कोइराला लगायत नेताहरूले एमसीसीको विषयलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको थियो । कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतवार दिउसो २ बजे पुनः बस्ने प्रवक्ता महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय