प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता रावलले राष्ट्रको स्वाधीनतामाथि नै गम्भीर आँच आउने सम्झाैता अनुमोदन गर्छाैँ भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
आज साेमवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यसबारे छानबिन गर्न पनि समितिसँग आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभामा विचाराधीन विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाउनुभयो ।
बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद् सुरु गराउने वातावरण बनाइदिन एमाले नेता रावलसँग आग्रह गर्नुभयो । उहाँले एमसीसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि बताउनुभयो ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले एमसीसी जनमत सङ्ग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले एमसीसीले देशकाे राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरूलाई सचेत गराउनु भयो । सांसद किरातीले एमसीसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरू रहेको भन्दै आपत्ति जनाउनुभयो ।