वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ ।आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुनु भएको थियो ।विशेष गरेर आइतबार वसन्त पञ्चमी तथा सरस्वती पूजाका दिन हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालोदेखिनै गर्दै आएको पाइन्छ ।
वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गर्नुभएको छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।