अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 11:36

गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

बिआरटीनेपाल २०७८ माघ १९ गते ७:०१ मा प्रकाशित

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यवसायिक रूपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर विश्वविद्यालयले अध्ययन सुरु गरेको हो ।पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको बताइएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजनाअनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको तिमिल्सिनाले बताउनुभयो ।विश्वविद्यालयले सुन्तलामा किरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको तिमिल्सिनाले बताउनुभयो ।

मंगलबार विश्वविद्यालयले पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तर्क्रिया गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयवाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो ।

सो अवसरमा विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताउनुभयो । विश्वविद्यालयले सूचना प्रविधि, खेलकूद, चिकित्साविज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिको कक्षा सञ्चालन गरिने र खेलकूद विभागको पढाइसमेत सञ्चालन गर्ने गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू