अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

एमसीसी संसदमा ल्याउनुपर्छ, सांसदहरूले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ : एमाले उपमहासचिव ज्ञवाली

बिआरटीनेपाल २०७८ माघ १९ गते ६:१९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको छ ।  आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरूले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको हो । सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको उहाँले आरोप लगाउनुभयो ।

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उहाँले उल्लेख गर्नुभयो । उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो । उपमहासचिव ज्ञवालीले स्थानीय तहको चुनाव समयमै हुनुपर्ने बताउनुभयो । स्थानीय तहको चुनावमा एमाले एक्लै उठ्ने पनि उहाँले स्पष्ट पार्नुभयो । एमालेले गरेको कामको आधारमा चुनावमा जानका लागि कसैको वैशाखी टेक्नुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको चुनाव समयमा हुनुपर्छ । कुनै बहानाबाजी स्वीकार्य छैन र नेकपा (एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरू कसैको साहारा लिनुपर्ने, अरू कसैको वैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरू र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ती तथ्यहरू नै जनताका मन जित्नका लागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय