अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

चितवनमा गैँडा मरेको विषयमा छानबिन गर्न मन्त्रालयले बनायो कार्यदल

बिआरटीनेपाल २०७८ माघ ११ गते ७:२० मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडा मरेको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनकाे समय दिइएकाे छ । साथै सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्थाका साथै सडक निर्माणको क्रममा लापर्बाही भएको पाइएमा त्यसको यकिन जानकारीसहित सुझाव पेस गर्न निर्देशन दिइएको छ ।

गएको ९ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परि गैँडा मरेको थियो । वन तथा वातावरण मन्त्रालयले यही विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू