अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

सबै विषयको नतिजा तत्काल प्रकाशित गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

बिआरटीनेपाल २०७८ माघ ११ गते ५:४३ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको छ । त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भईरहेको गुनासो आईरहेका बेला मन्त्री पौडेलले कार्यालयका पदाधिकारीहरुलाई उक्त निर्देशन दिनु भएको हो ।

मंगलबार बल्खुस्थित कार्यालयको अनुगमन गर्न पुग्नु भएका उहाँले विद्यार्थीले चाहेका बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराउनु भयो । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । ‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न उहाँले निर्देश गर्नुभयो ।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भएको जवाफ मन्त्री पौडेललाई दिनु भएको थियो । उहाँले जनशक्तिको अभाव र विद्यार्थीहरुको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाई हुन गएको आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताउनु भयो ।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीहरुको गुनासो सुन्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले सो विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढनुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू