अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

युग

गाेपीराम भण्डारी `वटुवा´ २०७८ माघ ७ गते २१:५८ मा प्रकाशित

मुक्तिको लडाइ लडेको योद्धा
चौतारोमा सुस्ताइ रहेछ
छितिजमा किरण फ्याकेको घाम
पश्चिम तिरै अस्ताइ रहेछ
मौकामा चौका हान्नेहरू
जनता भुलाउन घाँस छानिरहेछन
घाँसमा घाँस हैन, खास छ
उपहार स्वरूप, उपहास छ ।।

नाममा व्यवस्थाकाे,अवस्था बदल्नेले
युग बदल्नै आँटेपछि
भाेक्रो फुट्नेगरी यत्र तत्र
निर्धाहरूलाई ढाँटेपछि
बदलिने त समय हो
युग युगान्तर रहन्छ
युगमा प्राण रहे सम्म
निर्धालाई खाइरहन्छ ।।

लड्नेहरूको चिहानमाथि
लडाउनेको सालिक बन्छ
भन्न त जनता मालिक भन्छन्
चप्पले महाराज धिराज बन्छन्
उमेर पुगेर फले पछि पो
फलेको थाहा हुन्छ
छिट्टै फल्ने छिट्टै गल्ने को
ढलेपछि थाहा हुन्छ ।।

राज्य यहाँ निरीह बन्छ
जहाँ व्यक्तिको राग हुन्छ
शान्ति सम्पत्तिमा आगो लगाई
खरानीको भाग हुन्छ
यसपालि वा अर्कोपालि
झनै हरेक पालि
हवाङ्ग तर टाँगिएको
आँखा नछेक्ने जाली
व्यक्ति होस् वा राज्य होस्
सुनिरहन्छ झ्याली
सुनाइ रहन्छन् हालीमुहाली ।।

चल्छ कतै चलाउँछ काेही
लाज ढाक्ने चोली
सत्य सबै घाटमा देखिन्छ
आज होस् वा भोलि
विरुपाक्षले आर्यघाटमा
छलि काे ?भन्छ कलि
धप्प धप्प बाेलिहाल्छ
आज हाेस वा भाेलि ।।।

प्रतिक्रिया