अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

‘शिक्षक अस्पतालका लागि चितवन उपयुक्त’

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:५१ मा प्रकाशित

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने भनेको छ । समितिले भरतपुरसँगै भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको हो ।

समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभ्लपमेन्ट कार्यमा किफायति हुने देखिएको छ ।

संघीय शिक्षक अस्पतालका लागि हाल ३ सय शय्या क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ ।जसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधाका लागि प्रक्रिया अघि बढाउने निष्कर्षसमेत निकालिएको छ ।

यस्तै, वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ ।प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ । शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिमा डा. विमल शर्मा चालिसेको संयोजकत्वमा काक्तिक २२ गते ७ सदस्यीय समिति गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू