अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

बारले प्रधानन्यायाधीश राणाविरुद्ध भर्चुअल माध्यमबाट आन्दोलन गर्ने, सक्रिय नहुन चेतावनी

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:४० मा प्रकाशित

कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ। सर्वोच्च अदालतको परिसरमा भौतिक रुपमा जम्मा भएर गर्दै आएको आन्दोलनलाई बारले अब भर्चुअल माध्यममा लैजाने भएको छ। कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।

बारले भर्चुअल माध्यमबाटै आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउँदै लैजानेसमेत जनाएको छ। पौडेलले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘सर्वोच्च अदालत प्राङ्गणमा गरिँदै आएको भौतिक धर्ना, विरोध कार्यक्रम पछिसम्म निरन्तर रहने गरी हाललाई मिति २०७८ माघ ६ गतेदेखि मिति २०७८ माघ १८ गतेसम्मका लागि स्वरुप परिवर्तन गरी भर्चुयल माध्यमबाट व्यापक अन्तर्क्रिरया गरी निरन्तरता दिने व्यहोरा जानकारी गराउँदछौँ।’

बारले आफ्नो आन्दोलनका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुनै पनि काम गर्न नसकेको उल्लेख गर्दै महामारीको मौका छोपेर पुनः सक्रिय हुने आशंका व्यक्त गरेको छ। यदि राणा पुनः सक्रिय हुन खोजेमा बार भौतिक आन्दोलनमै फर्किने बारको चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू