अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

नेपालमा माघको दोस्रो साता कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्ने प्रक्षेपण, दैनिक संक्रमित १९ हजार नाघ्ने अनुमान

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:४० मा प्रकाशित

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता उत्कर्षमा पुग्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आँकलन गरेको हो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड–१९ को अवस्थाबारे प्रतिवेद पेश गर्दै उक्त तथ्यांक सार्वजनिक गर्नु भएको हो । उहाँले दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण समितिमा पेश गर्नुभएको थियो ।

प्रक्षेपण अनुसार करिब ९ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिएको छ । त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिनेछ । यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने प्रक्षेपण गरिएको छ ।डा. पौडेलका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले राम्रो तयारी गरेको छ ।

प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, वाग्मती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता अभिवृद्धि गरिएको छ ।

यस्तै मन्त्रालयले नेपालका भारतसँग सीमा जोडिएका प्रदेशहरुमा भारतमा संक्रमण बढेसँगै संक्रमणमा वृद्धि देखिएको तथ्यांक पनि प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू