अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

आउँदो वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धन सहमत

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:२६ मा प्रकाशित

आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । स्थानीय चुनावका बारेमा थप छलफल भने बाँकी रहेको र चाँडै बैठक बसेर टुंग्याइने नेताहरुले बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा नेताहरु आउँदो वैशाखमै चुनाव गर्न सहमत भएका हुन् ।

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिनुभयो । थप गृहकार्य गरेर आउँदो बिहीबार फेरि बैठक बस्ने उहाँले बताउनुभयो । बिहीबारको छलफलपछि चुनावको मिति तोकिने सम्भावना छ।

निर्वाचन आयोगले पनि स्थानीय तहको चुनाव आउँदो वैशाख १४ र २२ गते गर्न सरकारलाई सुझाव दिँदै आएको छ। कार्यकाल सकिनुभन्दा दुई महिनअघि चुनाव गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै आयोगले वैशाखमै चुनाव गर्न ताकेता गरिरहेको छ।

उता प्रमुख प्रतिपक्षी दल एमालेले पनि कानुनी व्यवस्थाअनुसार नै चुनाव गर्नुपर्ने बताउँदै आएको छ। मंगलबार बसेको सत्ता गठबन्धनको निर्णयसँगै आउँदो वैशाखमा स्थानीय तहको चुनावका लागि राजनीतिक वातावरण बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू