चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएको छ । रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
आफूविरुद्ध उजुरी परेपछि सोमबार फाउन्डेसनको तर्फबाट प्रष्टिकरण जारी गर्दै उनीहरुले रंगशाला निर्माणको सुरुवातीदेखि पुस २०७८ सम्मको लेखापरीक्षण भइरहेको र केही दिनमै परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गर्ने बताएका छन्।
‘आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट सुरूवाती दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरीक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौँ। उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ,’ जारी प्रष्टिकरणमा उल्लेख छ।