अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

निर्वाचन आयोगको सर्वदलीय बैठक- वैशाख १४ भित्रै पालिकाको चुनाव सम्पन्न गर्ने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह

बिआरटीनेपाल २०७८ पुष ३० गते ७:३० मा प्रकाशित

राजनीतिक दलका नेताहरुले वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।राष्ट्रिय सभा चुनाव, मतदाता नामावली र पालिकातहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरुले आउने वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह हुन् ।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गतेअघि नै पालिकामा नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै वैशाख १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए वैशाख १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।

आयोगको यो प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्कटका कारण राष्ट्रिय सभाको चुनावको मतदान केन्द्र र मतदानस्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेको पालिकाको चुनावको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले २०५४ सालमा पालिकाको चुनाव सारे जसरी सार्न संविधानले नदिनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा दलका नेताहरुले उमेर पुगेका सबै नागरिकले पालिकाको चुनावमा मतदान गर्न पाउने गरी मतदाता नामावली सङ्कलनको काममा तीव्रता दिन पनि आयोगको ध्यानाकर्षण गराएको छ । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू