अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

निसानी

गोपीराम भण्डारी २०७८ पुष २६ गते २१:२८ मा प्रकाशित

लघुकथा

पाको उमेरका नाइके बाले तरूनी श्रीमती भित्र्याएका छन् । सम्पन्नता र संस्कृतिलाई बचाइराखेका नाइके बा खालिहात घर फर्कनु हुँदैन भन्ने मान्यता राख्दछन् । बाहिर कतैबाट आउँदा केही न केही लिएर आउने उनको बानी छ । काम लाग्ने वस्तु पाए श्रीमतीलाई सुम्पन्थे । तत्काल काम नलाग्ने वस्तु कतै वलेसीमा घुसारीदिन्थे । दश वर्ष पहिले ल्याएको कटुवाले ठुला भुसतिघ्रेलाई सुइँकुच्चा ठाेकाउन सफल भएपछि झनै हौसिएका थिए । एक दिन घर फर्कदा केही फेला परेन । मसानघाटको बाटोबाट फर्केका नाइके बाले एउटा खप्पर भेटाएर पोको पारे । घर फर्कदा आधारात भएकोले खप्परको पोको बलेसीमा घुसारेर गृह प्रवेश गरे ।

केही दिनपछि श्रीमानले के ल्याएछन् ? भनी श्रीमतीले पोको फुकाएर हेरिन् र खप्पर देखिन् । एक छिन अचम्ममा परेकी श्रीमतीले निष्कर्ष निकालिन । यो अकालमा मारिएकी प्रेमिकाको खप्पर हुनुपर्छ । जवानीको प्रेमलाई भुल्न नसकेपछि मरणोपरान्त पनि खप्पर राखेका रहेछन् । विवाहपछि पनि भुल्न नसकेका नकचराको प्रेम निसानी मेटाइदिन्छु भनी ऐतिहासिक ढिकीको मुसलमा खप्पर राखेर कुट्न घरल्याक्क, घ्वाच्च हान्दा खप्पर उच्छिटिएर उनको टाउकोमा लाग्यो र घटनास्थलमै मोक्ष प्राप्त गरिन् ।

घरलाई सङ्ग्रहालय बनाएका नायिके बाले सङ्ग्राहलयमा श्रीमतीलाई चिसो अवस्थामा फेला पार्दा आफ्नो कर्म र योगदानप्रति पश्चात्ताप गर्दै खप्पर उठाइ हेरे खप्परमा लेखिएको थियो “म द्वन्द्वको निसानी, जन्मनु हिङ्गुला मर्नु पिङ्गुला, यति होइन अझै होला” ‌। नाइके बाले खप्पर जोड्ले मिल्काए तर भित्तामा ठोक्किएर उनकै अगाडि आइ भुरूङ् झैँ घुमिरह्यो ।

प्रतिक्रिया