अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने

बिआरटीनेपाल २०७८ पुष २६ गते ८:०४ मा प्रकाशित

बालुवाटारको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाण्डौले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै फर्काएको छ । जग्गा हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन आज सोमवार सीआईबीमै फर्काएको हो ।

अनुसन्धानमा केही कुरा अपुग देखिएको र केही विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख गंगाप्रसाद पौडेलले बताउनुभएको छ । थप के–कस्ता विषयमा अनुसन्धान गर्नुपर्ने हो भन्नेबारेमा खुलेको छैन ।सीआईबीले सरकारी कागजात किर्ते गरेको भन्दै ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई यही पुस ७ गते पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका सिलसिलामा अरू पनि दोषी देखिएको भन्दै तीन सय जनाभन्दा धेरैलाई मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार किर्ते मुद्दामा थाहा पाएको दुई वर्षभित्र मुद्दा चलाइसक्नुपर्छ । यसअनुसार ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दा दायर गर्ने हदम्याद आज नै सकिएको छ । तर दुई वर्षे म्यादले मुद्दा नरोकिने जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख पौडेलले बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू