अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघरमा अनशन बस्छु – सांसद मोदी

बिआरटीनेपाल २०७८ पुष २० गते ७:०५ मा प्रकाशित

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ ।सांसद मोदीले उखु किसानले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरूलाई भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनशनमा बसेर भुक्तानी दिलाइ छाड्ने अठोटसमेत व्यक्त गर्नुभयो ।

मङ्गलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले उखु किसानको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरू आफैँले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताउनुभयो । सांसद मोदीले उखु किसानको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको पनि बताउनुभयो ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले कुनै पनि किसानले फेरि आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरूको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) की अर्का सांसद धर्मशीला चापागाईँले समितिले पटक–पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारले किन उखु किसानलाई भुक्तानी दिन नसकेको ? भनी पटक–पटक प्रश्नसमेत गर्नुभयो ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालयले उखु किसानको भुक्तानीका लागि प्रयास गरिरहेको बताउनुभयो । झन्डै एक अर्ब ७० करोड बक्यौता भएकोमा मन्त्रालयले झन्डै आठ करोडमा झारेको पनि उहाँले समितिलाई जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू