अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

“लुम्बिनी”

सञ्जय शाक्य २०७८ पुष १९ गते २०:१२ मा प्रकाशित

(कथा)

मेरो नाम लुम्बिनी । तर टोलका छिमेकी र साथीहरू सबैले लुमनी भन्छन् । अझ घरमा त लुमं भनेर पुकारिने । कलेजमा मास्टर्ससम्म पढ्न भ्याइयो । क्याम्पसमा लेक्चररको जागिर खान जाऊ भनेर सुझाव आए पनि आफ्नो रुचि नभएको जागिर के खानु भनेर गइनँ ।

घरमा सबैभन्दा कान्छी हुनाले सबैको प्यारी थिएँ । मेरो छिमेकी दौँतरी र साथीहरू सबैको बिहे भइसक्यो । कसैको लभ म्यारिज त कसैको एरेन्ज । मलाई भने कुनै माइका लालले फकाउने र जिस्काउने आँट गर्न सक्दैनथे । किनकि म उल्टै केटाहरुलाई जिस्काएर पठाउने केटी परें ।

मोबाइलमा टिन्न घण्टी बज्यो । निकटतम साथी सुमेधाको फोन रहेछ । उनी मेरो स्कुल र कलेजमा सँगै पढेका र साह्रै मिल्ने साथी पनि हुन् । हामीलाई ‘सुमु-लुमु’को जोडी पनि भन्छन् ।
“सुमु, किन आज अचानक फोन गर्‍यौ त ? सन्चै छ तिमीलाई ?”
“मैले काम गर्ने अफिसमा एक जना स्टाफ चाहिएको छ । तिमीले गर्ने भए साहुलाई भनिदिन्छु ।”
घरमा त्यत्तिकै कति बसिरहनु ! जागिर खाए जग्गेमा फेरो लिनुपर्ने दबाब भए पनि टार्न मिल्ने ठानेर अनुमति दिएँ ।

म्यानपावर कम्पनीमा जागिर गरेको पनि पॉंच वर्ष भएछ । अब त हामी अफिसमा पुरानो भइसकेका थियौँ । हुँदा काम गर्‍यो, फुर्सदमा गफ गर्‍यो । मोबाइलमा फेसबुक र मेसेन्जरमा साथीहरूसँग कुरा गर्‍यो । अफिस पछि घरमा आमा र भाउजूहरूले पकाइ राखेको मिठो पकवान खायो, पियो । कति आनन्द ! अहो ! मेरो जिन्दगीको कुरै नगरौँ ।

एक दिन अफिसमा सुमेधाले सोधिन् – “ए लुमु, अब तिमीले पनि बिहे गर्ने होइन ?”
“चिने जानेको सबैले जोडी बॉंधिसके । अब फेसबुकमा आफैले खोजेर गर्ने नि ।”
आजबाट अफिसको कामको अतिरिक्त केटा साथी खोज्ने भइयो । एक जना भेटियो – लोकेश उसको नाम । हाम्रो व्यक्तिगत चिनारी, के मन पर्ने, के मन नपर्ने ? परिवारको नालीबेली सकेपछि फोन नम्बर पनि लेनदेन गर्‍यौँ । मैले लोकेशलाई ख्याल गरे झैँ “आइ लभ यु !” भनेर मेसेन्जरमा दुई पटक लेखेँ । उनले “लभ यु टु !” भनेर एक चोटि नि जवाफ नदिँदा मनमा लाग्यो – ‘कस्तो ब्ल्याक एन्ड ह्वाइट केटा साथी बनाइएछ !’

आज बिहान मर्निङ वाक जाने क्रममा भाइले सुनाए – “लुमं दिदी, हिजो टोलकै लमी गुर्जुले तिम्रो बिहेको प्रस्ताव ल्याएको थियो । केटा यही पाटनकै रैथाने रे ! जात र उमेर पनि मिल्छ रे ! इम्पोर्ट-एक्सपोर्टको बिजनेस छ रे ! आमा र बाबाले तपाइसँग सोधेर खबर गर्छु भन्नुभएको छ ।”
मैले केही उत्तर दिइन । मनमा लोकेशको याद मात्र झलझली आइरह्यो । घरमा पुग्नासाथ बुबाले बोलाएर सोध्नुभयो –
“छोरी, तिमीलाई राम्रो कुल घरानको केटाको लागि माग्न आएका छन् । एक वचन तिमीलाई पनि सोधूँ भनेर । तिमीले कोही मन पराइराखेकी छौ कि ?”
“छैन, तर म अहिले नै बिहे गर्दिन बुबा !” म आफ्नो कोठामा लम्कन्छु ।

अफिस जानलाई तयारी हुनुपर्ने तर मेरो जाँगर हरायो । मनमा खुल्दुली भएर लोकेशसँग मेसेन्जरमा कहिले कुरा गरेर सबै बेलिबिस्तार लगाऊँ भन्ने औडाहा भयो । मेसेन्जरमा लेखेँ –
“भरे अनलाइनमा आउनु है ! तपाईँलाई एउटा कुरा भन्नु छ ।”
अफिसमा पुगेर लोकेशलाई सबै कुरा सुनाएँ । उसले भन्यो – “त्यसो हो भने म तिमीलाई बिहे गर्छु । हामी एकले अर्कोलाई राम्ररी बुझिसकेका पनि छौँ ।”
“तर मैले बुबालाई मेरो ब्वाइफ्रेन्ड छैन भनिसके त !”
“मैले चिनेको, मन मिल्ने साथी भन न !”

घरमा गएर आमालाई भनेँ –
“मैले एक जनालाई मन पराएको छु । ऊ अमेरिकामा बस्छ ।”
“अस्ति तिम्रो बाबाले सोध्दा चाहिँ कोही छैन भन्यौ त !”
“अस्ति ब्वाइ फ्रेन्ड झैँ कुरो भएको थिएन । आज मेरो घरमा बिहेको कुरा हुँदैछ भन्दा उसले आफ्नो मनको कुरा खोल्यो । लौ न आमा बुबालाई भनिदिनुस् ।”
“केटालाई कसरी चिनेको नि ?”
“फेसबुकमा भेटेर मेसेन्जरमा हेरेर कुरा गरेको नि ।”
“हाकाहाकी कहिले भटेको छैन रे ! अमेरिकाको केटा रे ! तिम्रा दिदीहरु सबै यही पाटनमा बिहे भएको छ । तिमी एक जना त्यति टाढा पनि बिहेदान गरेर पठाउँला त ! “
यत्ति भनेर आमाले मेरा दुइटी दिदीहरूलाई फोन गरेर भन्नुभयो – “यो लुमंलाई सम्झाउन आऊ है !”

सॉंझपख दिदीहरु आएर मलाई बेस्सरी झपार्दै भने –
“हेर लुमं, तिमीले किन यसरी मन बिगारेको हँ ! चिनेको छैन, कहिल्यै भेटेको पनि होइन । कसरी विश्वास गर्ने ? परदेशको ठाउँमा तिमीलाई केही भइहाल्यो भने कसले हेर्न आउँछ ? हामी सबै यहॉं, तिमी एउटी त्यता, त्यो पनि त्यति टाढा !”
“मैले बिहे गर्नै परे लोकेशसँग मात्र गर्छु के !” म घुर्की लगाउँछु ।
“लौ भइहाल्यो । केटाको यहॉं पाटनमा कोही नातेदार छ त ?” दिदीहरु अलि नरम देखिए ।
“म भोलि नै सोधेर भन्छु दिदी ।”

लोकेशले काठमाडौँमा मामा-माइजू तथा दाजु-भाउजू छन् भनेर भाउजूको मोबाइल नम्बर टिपाए । लोकेशको भाउजूले के भन्ने हुन् भनेर मनमा आशङ्काले डेरा जमायो । भाउजूले भन्नुभयो – “लुम्बिनीको र हाम्रो एउटै बहाल रहेछ; नाता पर्छ कि !” एउटै बहाल भए पनि आमा र बुबापट्टि कोही कतै नाता नभए हाम्रो बिहेबारी चल्छ । यही कुरा मैले लोकेशलाई भनेँ । परिवारको दबाब र लोकेशसँग छुट्टिनुपर्ने डरले दुई दिनसम्म भोक हडताल नै गरेँ । अफिस पनि गइनँ । मेरो यस्तो दुर्दशा जानेर लोकेशले भने -“यस्तो सास्ती खेपेर परिवारको स्वीकृति विना तिमीसँग गठबन्धन गर्दिनँ । तिमीले तिम्रो अभिभावकले भनेकोतिरै लगन गर ।”

बल्ल मेरो ज्यानमा सास भरिएर आयो । मायाजालको बन्धनबाट मुक्त गरिदिएकोमा मैले लोकेशलाई धन्यवाद दिएँ ।
“लोकेश, तपाइले यति नभनेको भए म पनि हार मान्ने केटी होइन बुझ्नुभयो । तर आमा, बुबा र सबैको खुसीको लागि आजदेखि तपाइसँग छुट्टिदैंछु । तर तपाईँ नेपालमा आउँदा एकपल्ट जम्काभेट गर्ने मन छ । जीवनमा पहिलोपल्ट माया लाएको पनि यस्तो भयो । आइन्दा मैले माया भन्ने कहिल्यै लाउँदिन ।”

मेरो हुनेवाला व्यापारी लोग्ने पनि गजबको रोमान्टिक रहेछ । भ्यालेन्टाइन डेको दिन केक काटेर सुपारी सगुन लिएर फूलमाला गरियो । लोकेश पनि विवाह गर्न नेपाल आउन लागेको कुरा मेसेन्जरमा पढेर थाहा भयो । तर मैंले मेसेन्जरमा यसको जवाफ दिइनँ । मेरो लागि आफू पन्छिएर मार्ग प्रशस्त गरिदिने लोकेशलाई भेटेर आभार प्रकट गर्ने उत्कट चाहना त थियो । तर दुई ज्यानको भेट र चार आँखा जुध्यो भने मन बदलिने, दुर्घटना हुने भयले मैंले मुटुमाथि ढुङ्गा राखेर टाढैबाट मनमनै लोकेशलाई बधाइ दिएँ ।

कोलोराडो, अमेरिका

प्रतिक्रिया