अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 20:20

झुल नभएको भए !

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ पुष १९ गते १९:४४ मा प्रकाशित

माथि चार किलामा
दह्रोसँग बाँधेर
तल पूरै ओछ्यान ढाक्ने गरी
झुल नकसेको भए – मैले
मीठो सङ्गीत सुनाउँदै
त्यसैको तालमा लठ्याएर
जिउभरि छपछपाउँदै
रोगैरोग रोपी
मेरै रगतले ढाडिँदै
विजयोत्सव मनाएर
कति नाच्थे होलान् !
परजीवी – लामखुट्टेहरू ?

यसर्थ
रणभूमिमा आफ्नो छाती फैलाएर
विषालु लामखुट्टेहरूलाई
सहजै पराजित गरी
मेरो रक्षाकवच बनी
मलाई स्वस्थ जीवन प्रदान गर्ने
शूरवीर र उपकारी
त्यस झुलप्रति
म सदैव ऋणी छु ।

मेरो रगत पिउन आतुर
फोहोरी भोका लामखुट्टेहरू
झुलबाहिर जति कुरिरहे पनि
म झुलभित्र आरामले घुरिरहेँ
तिनले डस्न के !
मलाई छुन पनि सकेनन् !!

परपीडक निर्दयी लामखुट्टेहरूले
जति नै आँत जलाए पनि
जति नै पखेटा चलाए पनि
जति नै मुख मिठ्याउन खोजे पनि
सकेनन् मेरो निद्रा चपाउन
सकेनन् मेरो सपना भत्काउन !!

फोहोरमै जन्मिने
फोहोरमै पन्पिने
फोहोरमै भुन्भुनिने
फोहोरमै रमिरहने
घिनलाग्दा किरा
फोहोरी लामखुट्टेहरूले
सकेनन् – ममा मलेरियाका बिउ रोप्न
सकेनन्- ममा डेङ्गुका बिरुवा हुर्काउन
सकेनन्- मलाई पीतज्वरले गलाएर ढलाउन
सकेनन् – मलाई हात्तीपाइलेका भारी बोकाउन
नाच्दै सङ्गीत सुनाउँदै
जति फकाउन खोजे पनि
सकेनन् – मलाई
जापानिज इन्सेफलाइटिस उपहार दिन !

सलहका ताँती झैँ
जत्रै जुलुस आए पनि
सकेनन् – मेरो चोखो रगत बिटुल्याउन
जति नै प्रयास गरे पनि
पाएनन् भोका परजीवी लामखुट्टेहरूले
विजयोत्सव मनाउन !!

मसँग यदि झुल हुन्थेन भने
यता कति ढाडिँदै
रमाउँथे होलान् – लामखुट्टेहरू
उता कति मोटाउँदै
रमाउँथे होलान्
भीमकाय ती गगनचुम्बी अस्पतालका
डाक्टर र सञ्चालकहरू !!

देशका निम्ति आफूलाई
त्याग गर्ने सपूतहरूले
अरू केही नपाए पनि
वर्ष दिन
वर्ष दिनमा
अबिर र फूलमाला त पाउँछन् !
त्यही स्मरण गर्दै
म पनि मेरा निम्ति
आफूलाई त्याग गर्ने प्रिय झुललाई
गुनको रिन तिर्न
स्नेहले सुम्सुम्याउँदै
बेलाबेलामा साबुनपानीले नुहाइदिने गर्छु
त्यसलाई अझ आराम होस् भनेर
जता छ पारिलो घाम
उतै सुताइदिने गर्छु !!

– गोरखा – लप्सीबोट, हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।