अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

नयाँ बर्ष बहिष्कृत नहोस्

आचार्य प्रभा २०७८ पुष १७ गते १८:१९ मा प्रकाशित

कविता

नयाँ बर्ष आउँछ
खुशी ल्याउँछ
अनि शनै:शनै :
फेरि आफ्नो
असलियत देखाएर
कसैलाई शोकमा डुबाउँछ
कसैको भाग्य चम्काउँछ
कसैलाई छुटाउँछ
कसैको मिलन गराउँछ ।
नयाँ बर्ष बहिष्कृत हुनुहुन्न।
हो,नयाँ बर्ष आउँछ
केही हर्षको फोहोरा बर्षाएर
त्यही हर्षको फोहोरा
कसैको आँसुमा परिभाषित भएर झर्दछ
कसैकोलागि उमंगको स्याम्पेन
बनेर उड्छ माथी माथी
खुशीको फिंज बनेर।
त्यसैले लाग्छ,नयाँ बर्ष
दीर्घकालिन खुशी होईन
जो क्षणिक रमाएर सदाबहार बन्ने
नयाँ बर्ष उत्साह र उमंगको सार होईन
जो,बोतल फोरेर,उफ़्रिएर मात्र खुशी मनाउँने
नयाँ बर्ष त्यस्तो होस्
जो नव दुलही झैं भित्रिएर
दिर्घकालसम्म स्थिर रहने,सन्तुष्ट गराउँने।
अन्तत!मेरो अर्थमा नयाँ बर्ष
बोतलको रससँग पिईनु हुन्न
अनि सितनको परिकारसँग मात्र चपाईनु हुन्न
यो त आफ्नो कर्म र मिहेनतसँग
जोडिएर आउँनु पर्छ अनि,
नयाँ बर्ष एकरातमै बहिष्कृत हुनु हुन्न
यो त सदा बहार कुमारी रहनु पर्छ
अनि हर साल नयाँ भावमा जगमगिनु पर्छ
जस्तै दुई हजार बाईस अब जगमगिनेछ
छुट्टै आभाष दिलाएर सारा जगतलाई।

रचना -३१ /१२ /२०२१