अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

युग र जीवन बोलेको निबन्ध सङ्ग्रह ‘घाउ आफैलाई दुख्छ’ को लोकार्पण

बिआरटीनेपाल २०७८ पुष १७ गते १७:५८ मा प्रकाशित

निबन्धकार गोपी मैनालीको पाँचौँ साहित्यिक कृति एवम् तेस्रो निबन्ध सङ्ग्रह ‘घाउ आफैलाई दुख्छ’ को आज नयाँ वर्ष २०२२ को सुरुवातसँगै एक भव्य कार्यक्रमबिच लोकार्पण भएको छ ।

सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ पन्त, प्रा डा वरिष्ठ समालोचक खगेन्द्र प्रसाद लुइटेल, वरिष्ठ कवि एवम् नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइराला, वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेल, दार्शनिक चिन्तक एवम् योग गुरु डा चिन्तामणि योगी, समालोचक प्रा लीला लुइटेल र निबन्धकार गोपी मैनालीले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

कृति लोकार्पणपछि प्रा डा खगेन्द्रप्रसाद लुइटेलले कृतिमाथि प्रकाश पार्दै कृतिमा समय, जीवन र अनुभूतिको संगम भएको, वेगल स्वाद र प्रयोग भएको आयामिक निबन्ध भएकोले कृति सबैले पढ्नै पर्ने विचार प्रस्तुत गर्नुभएको थियो । उहाँले सर्जक सिर्जनापछि मर्छ, यस मानेमा कि कृति सार्वजनिक सम्पत्तिको रूपमा रहन्छ, लेखकीय दायित्व र स्वामित्व रहँदैन भन्दै सार्वजनिक प्रशासनमा सानो पददेखि विशिष्ट पदसम्म पुग्दा उहाँले देखाउनु भएको इमान्दारिता र निष्ठा लेखनीमा पनि भएको बताउनु भयो । राम्रो काम गर्दा पनि पटक पटक सरकारले दपेटेको कारण कृतिहरू जन्मन सहज भएकाले उहाँलाई दुखदिदा कृतिहरू जन्मेको प्रसङ्ग आल्याउनु भयो । निजात्मक, कल्पना, स्वेरकल्पना, अनुभूतिको छचल्काइ, प्रविधि, विज्ञान र मानवीय संवेदना कृतिभरि भएको यो कृति नेपाली साहित्यमा एकाध निबन्धमा पर्ने, युग बोलेको, जीवन उतारिएको कृति भएको बताउँदै आउँदा दिनमा यस्तै कृतिहरू नेपाली साहित्यले पाउने अपेक्षा व्यक्त गर्नु भयो ।

वरिष्ठ कवि एवम् पूर्व मुख्य सचिव विमल कोइरालाले निबन्धकारमा रहेको मानवीय संवेदना नै कृतिमा आएका छन्, जुन उनको व्यवस्थापकीय जीवनमा पनि आफूले देखेको विचार व्यक्त गर्नु भयो । सार्वजनिक जीवनमा देखे भोगेका, कल्पनाले ठम्याएका, बैयक्तिक प्राज्ञले देखेका कुराहरू नै सुन्दर शिल्पमा लेख्नु मैनालीको निबन्धीय बैशिष्ट्य भएको उल्लेख गर्नुभयो । निबन्धकार मैनाली बहुमुखी प्रतिभाको प्रतीक, प्रोलिफिक लेखक भएको प्रसङ्ग औँल्याउनु भयो ।

योग साधक, दार्शनिक चिन्तक डा चिन्तामणि योगीले मन बचन र आत्मिक शुद्धताको अभिव्यञ्जना मैनालीका निबन्धमा पाइने विशेषता प्रसङ्ग विश्लेषण गर्नु भयो भने वरिष्ठ साहित्यकार विजय चालिसे निबन्धकार मैनालीको व्यक्तिगत जीवनमा सरलता, सार्वजनिक जीवनमा व्यावसायिक निष्ठा र साहित्यिक जीवनमा कलात्मकता रहेको र आफूले मैनालीका कृतिहरूमा युगिन अनुभूति पाएको बताउनु भयो । वरिष्ठ समालोचक लीला लुइटेलले निबन्धकार मैनालीका निबन्ध विज्ञान, कला, संवेदना र भावनात्मक गहिराइका सरल सुक्तिमय प्रस्तुति भएको चर्चा गर्नु भएको थियो । साहित्यकार एवम् कार्यक्रम प्रस्तोता टिकाराम यात्रीले मैनालीको निबन्धमा जीवनको मौलिक आस्वादको सटिक चर्चा गर्नुभएको थियो ।

प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले मैनालीका निबन्धले युग, जीवन र जगतलाई समेटेकोले यस्ता कृति भावी दिनका लागि साहित्यिक दस्ताबेजको मानकका रूपमा समेत रहन सक्ने कुरा अभिव्यक्त गर्दै मैनालीले लेखनीमार्फत साहित्यमा, र अन्य माध्यमबाट साहित्यिक संस्थाहरूमाथि गरेको सहयोग र सार्वजनिक प्रशासनमा रहँदा गरको स्वच्छ र सदाचारयुक्त सेवाको समाजले कदर गर्नुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा निबन्धकार गोपी मैनालीका कृतिमाथि वरिष्ठ साहित्यकार लव गाउँले, वरिष्ठ कथाकार महेश प्रसाई, साहित्यकारहरू हरिभक्त सिग्देल, कुलप्रसाद कोइराला, कोषराज न्यौपाने, तुलसीहरि कोइराला, विनोद दाहाल, रामकुमार पण्डित, नरेन्द्रराज पौडेल, बाजुराम पौडेल, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल लगायतले विभिन्न कोणबाट कृतिमाथि प्रकाश पार्नु भएको थियो ।

निबन्धकार गोपी मैनालीले ३० निबन्धका तीस प्रसङ्गहरू एक एक बसाइका लेखनी भएको र सवैका भोगाई, पीडा, उच्छवास, अपेक्षा र छटपटीलाई आफूले निर्बन्ध अभिव्यक्ति मात्र गरेको बताउँदै अव यो कृति आफ्नो नरहेको, समस्त पाठकहरूको रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू