अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

कोभिड लक्षण नदेखिए विदेशबाट आउनेले ‘होटल क्वारेन्टिन’ बस्न नपर्ने

बिआरटीनेपाल २०७८ पुष १७ गते ८:५३ मा प्रकाशित

सरकारले कोभिड–संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोनको रोकथाम तथा न्युनीकरण गर्न एक महिनाअघि जारी आदेश खुकुलो गर्दै पूर्ण खोप लगाएका र ७२ घण्टा भित्रको नेगेटिभ पीसीआर रिपोर्ट भएका नेपालीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै घर जान सक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम भएका देशबाट आउँदा सात दिन आफ्नै खर्चमा अनिवार्य रुपमा तोकिएको होटल क्वारेन्टिनमा बस्नुपर्ने २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषदबाट स्वीकृत आदेशलाई खुकुलो बनाउँदै दुवै खोप लगाएका र ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएमा १० दिन ‘होम क्वारिन्टिन’मै बस्न सक्ने व्यवस्था गरेको हो । सोही निर्णयमा क्वारेन्टिन अवधिमा लक्षण देखिएकालाई तत्कालै र अन्य अवस्थामा सातौं दिनमा आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने तथा नतिजा पोजिटिभ भएका व्यक्तिहरुलाई तोकिएको आइसोलेसन केन्द्र वा अस्पतालमा पठाइने’ उल्लेख थियो ।

नयाँ प्रावधान कार्यान्वयनका लागि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र सबै जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार आन्तिरिक सर्कुलर गरेको छ । निर्णय केही दिनभित्रै राजपत्रमा प्रकाशित हुने गृह मन्त्रालयले जनाएको छ । पुस ८ मा बसेको मन्त्रिपरिषद बैठकले ओमिक्रोन भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्णय गरे पनि शुक्रबारमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो । गृहले मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन गर्न शुक्रबार नै मातहत सुरक्षा निकाय, अध्यागमन विभाग र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू