अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

सहमतिका लागि भन्दै माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित

बिआरटीनेपाल २०७८ पुष १७ गते ८:३३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि जारी गरिएको कार्यतालिका स्थगित गरिएको छ । सहमतिको लागि भन्दै आइतबार दिउँसो १ बजेसम्मका लागि कार्यतालिका स्थगित गरिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

रातभर नै सहमतिको प्रयास जारी राख्ने र आइतबार १ बजेसम्म पनि सहमति नभए पुनः निर्वाचन प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो ।आजको बन्दसत्रबाट बाहिरिने क्रममा नेता एवं राष्ट्रियसभा सांसद रामनारायण विडारीले भोलि साँझसम्म सर्वसम्मतिमार्फत नेतृत्व चयन हुने बताउनुभएको थियो ।माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदा अन्य पदाधिकारी र केन्द्रीय सदस्य लगायतका पदमा भने निर्वाचन हुने देखिएको छ । यद्यपि विडारीले सहमति नजिक पुगिसकेको बताउनुभएको छ ।

महाधिवेशनले शनिबार सर्वसम्मतिले पारित गरेको विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको कोटा बनाइएको छ । केन्द्रीय कमिटीमा सबै कोटा र खुलाबाट गरी ३५ प्रतिशत महिला अनि २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । माओवादी महाधिवेशनम १ हजार ७ सय ४२ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू