अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

भारत जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्रीसहित शीर्ष नेताहरू नजरबन्दमा

बिआरटीनेपाल २०७८ पुष १७ गते ७:४५ मा प्रकाशित

भारतको जम्मू–कश्मीरका विभिन्न दलका शीर्ष नेताहरूलाई नयाँ वर्षकै दिन ‘नजरबन्द’मा राखिएको छ । नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।

जम्मू–कश्मीरका राजनीतिक दलको समूह ‘गुपकर गठबन्धन’ले शनिबार केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि नै नेताहरूको घरमा ताला लगाइएको थियो । त्यस्तै शीर्ष नेताहरूको घरअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले घरको गेटमा रहेको प्रहरीको गाडीको तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ, ‘सुप्रभात, सन् २०२२ मा तपाईंलाई स्वागत छ । एउटा नयाँ वर्ष, उही पुरानो जम्मू–कश्मीर प्रहरीसँग, जसले अवैध रूपमा मानिसहरूलाई घरमै थुनिरहेको छ । अर्को एक प्रशासन जो सामान्य लोकतान्त्रिक गतिविधिबाट यति डराएको छ कि शान्तिपूर्ण प्रदर्शनमा समेत रोक लगाएको छ । प्रदर्शन रोक्नका लागि जम्मू–कश्मीर प्रहरीको ठूला ट्रक ढोकामा राखिएका छन् । केही चिज कहिल्यै बदलिँदैनन् ।’

त्यस्तै पीडीपीकी नेता महबूबा मुफ्तीले पनि ट्विट गर्दै सरकार डराएर आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा रोक लगाएको बताउनुभएको छ । उहाँले शान्तिपूर्ण प्रदर्शन आयोजना गर्न खोजेकै कारण आफूहरूलाई १५औं पटक नजरबन्दमा राखिएको बताउनुभयो ।

जम्मू–कश्मीरका राजनीतिक दल शनिबार केन्द्र सरकारबाट थप गरिएको ७ विधानसभा क्षेत्रको ‘अस्वीकार्य विभाजन’को विरोधमा प्रदर्शन गर्ने तयारीमा थिए । सन् २०२० फेब्रुअरी १७ मा केन्द्र सरकारले जम्मू–कश्मीरमा विधानसभा क्षेत्र बढाउने प्रक्रिया सुरु गरेको थियो । सरकारले १ सय ७ बाट बढाएर १ सय १४ सिट पुर्‍याएको छ ।

जसमध्ये २४ सिट पाकिस्तान प्रशासित कश्मीरका लागि आरक्षित छन् । जम्मूमा ६ सिट बढेर ४३ भएको छ भने १ सिट बढाइएको कश्मीरमा ४७ पुगेको छ । जनसंख्याको अनुपातमा सिट नबढाइएको भन्दै क्षेत्रीय दलहरूको असन्तुष्टि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू