अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

बाँकेमा कोइला बालेर सुतेका एकै परिवारका ४ जनाको निसास्सिएर मृत्यु

बिआरटीनेपाल २०७८ पुष १५ गते ६:०२ मा प्रकाशित

बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर ४ जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका(१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका- ६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराईको ७ जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा ४ जना मृत भेटिएसँगै अन्य ३ जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

बुधबार देशभर वर्षा हुँदा चिसो बढेको थियो । राति कोइला बालेर सुतेको र निसास्सिएर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू