अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

बैंकको १६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सप्तकोशी बैंकका सीईओ सुवेदी पक्राउ

बिआरटीनेपाल २०७८ पुष १४ गते ८:२३ मा प्रकाशित

करिब १६ करोड रकम घोटला गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीसहित चारजना पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

उनीसहित प्रहरीले अमित थापामगर, देविप्रसाद भण्डारी र हिमाल भट्टराईलाई पनि पक्राउ गरेको छ । बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रूपैयाँ हिनामिना गरेको मुद्दामा सुवेदीसहित चार जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिनुभयो । धनकुटामा केन्द्रीय कार्यलय रहेको सप्तकोशी डेभलपमेन्ट बैकको कर्पोरेट कार्यालय विराटनगरमा छ । बैंकको कर्पोरेट कार्यालयमा रहेको रेमिट्यान्स शाखाबाट उक्त रकम हिनामाना भएको खुलेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

हिनामिना भएको रकममध्ये अधिकांश सीईओ सुवेदीकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पछिल्लो ६ वर्षयता बैंकको करिब १६ करोड रकम हिनामिना हुँदा बैंक बेखबर देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

उक्त रकम हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको पाइएको छ । उनी सीईओ नविन सुवेदीकी नातेदार हुन् । उनको प्राइम कमर्सियल बैंकको खाता नम्बर ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको अनुसन्धानबाट खुलेको छ । सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको उक्त खाताबाट रकम झिकिएको राष्ट्र बैंकको अनुसन्धानमा देखिएकाले प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू