अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

शिव पलाँसका गीत पुस्तकमा

बिआरटीनेपाल २०७८ पुष ९ गते १०:१२ मा प्रकाशित

अमेरिका, माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीतसंग्रह बजारमा आएको छ । उनी दुई दशकयता निरन्तर साहित्य साधनामा लागिरहेका सर्जक हुन् ।

‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा. कृष्णहरि बरालले भने ‘ यस गीत संग्रहमा रहेका गीतहरूको आ-आफ्नै वैशिष्ट्य छ । गम्भीर कुरालाई प्रतीकात्मक रूपले सहजै अभिव्यक्त गर्न सक्नु शिव पलाँसको गीति लेखनको विशेष सामर्थ्य हो । यो गीत सन्चयनले उनलाई महत्त्वपूर्ण गीतकारको रूपमा स्थापित गरेको छ ।’

साहित्यकार डा. ऋषि बस्ताकोटीले पलाँसका गीत पढ्दा नै गीत भएको महसुस हुने र उनका गीत खासगरि गम्भीर श्रोता लक्षित भएको जिकिर गरे ।

कृतिमाथि टिप्पणी गर्दै वरिष्ठ गीतकार राजेन्द्र रिजाल भन्छन् ‘शिव पलाँसका गीति हरफहरूमा दिल छुने भाव, ध्वनि र सुस्केराहरू छन् । गीतको माध्यमबाट जीवन, जगत र मानवीय संवेदनालाई सशक्त ढङ्गले उजागर गर्न अघि बढेका प्रयासहरूलाई उनको कलमले प्रतिनिधित्व गरेको पाएको छु’। त्यसैगरि सङ्गीतकार राजु सिंहको बिचारमा उनका गीतहरू जीवन्त र गेयात्मक छन् भने गायक कर्णदासको बुझाइमा यस सङ्ग्रहभित्रका प्राय गीत पर्वतीय उचाइका छन् ।

गीतकार रमेश पौडेलले पलाँसका गीतहरू पलाँस नभई गुराँस भएको बिचार व्यक्त गरे भने हरिहर तिमिल्सिनाले पलाँसका गीत हेर्ने वा सुन्ने नभई महसुस गर्ने स्तरको भएको भनाइ राखे । विष्णुबाबु देवकोटाले आफूले शिव पलाँसको गीति चेतना फराकिलो पाएको धारणा राखे ।अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजाले यो गीत संग्रहले घरबास र प्रवासमा रहेका नेपालीको जीवनका सुस्केरा समेटिएको धारणा राखे ।

कार्यक्रममा नम्रता गुरागाईं, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ ‘सरू’, लक्ष्मी थापा, डा. चिरञ्जीवी भट्टराई, बिमल गौतम लगायतले गीतकार पलाँसका रोज्जा गीत सुनाउँदै उनलाई शुभकामना दिएका थिए भने गायक, सङ्गीतकार सञ्जु थापाले पलाँसको गीत गाएर सुनाएका थिए ।

कार्यक्रममा गीतकार पलाँसले गीतका रङहरु जिन्दगीका रङ जस्तै हुने बताए । उनले भने ती रङ्गहरू कहिले अँध्यारा हुन्छन् त कहिले उज्याला हुन्छन् । त्यसैले गीत मेरा लागि अनुभव र अनुभूतिको सङ्लो प्रतिबिम्ब हो ।’

दीप श्रेष्ठ, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, शिशिर योगी, कर्णदास, मनोजराज, प्रमोद खरेल, सन्तोष रुचाल, इन्दिरा जोशी, सुमन क्षेत्री, चन्दादेवी, स्वरूपराज आचार्य, नरजंग गुरुङ, एबी संकल्प, अनिता घिमिरे, भुवन प्यासी, नवीन काफ्ले लगायतका गायक गायिकाले पलाँसका गीतमा स्वर दिएका छन् । ती गीतमा बी.बी. अनुरागी, अर्जुन पोखरेल, सञ्जु थापा, तेजेन्द्र गुरुङ, रमेश कडरिया, विनोद रसाइली, तीर्थराज पोखरेल लगायतका सङ्गीतकारले सङ्गीत भरेका छन् ।

कृतिमा उल्लेखित गीतसहित ८१ गीत समावेश छन् । आवरण प्रकाशनबाट निस्किएको कृतिको वितरण पाल्पा बुक्स, काठमाडौँले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू