अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

अज्ञात व्यक्तिले सिटी कलेजलाई दिए १ लाख ८० हजार डलर चन्दा

बिआरटीनेपाल २०७८ पुष ९ गते ९:२० मा प्रकाशित

एजेन्सी । न्यु योर्कस्थित सिटी कलेजको एक जना प्राध्यापकको कार्यालयमा १ लाख ८० हजार डलरले भरिएको बाकस फेला परेको छ । सय र पचास डलरका नोटले भरिएको उक्त बाकस भौतिकशास्त्रका प्राध्यापक विनोद मेननको कार्यालयमा फेला परेको हो । उनी हार्लेमस्थित सिटी कलेज फिजिक्स डिपार्टमेन्टका प्रमुख हुन् ।

उक्त बाकस कहाँबाट कसले पठाएको भन्ने अज्ञात छ । तर, बाकसमा नक्कली नाम कायल पेस्ली लेखिएको स्लिप फेला परेको छ । त्यसमा उक्त रकम फि तिर्न समस्यामा रहेका विद्यार्थीका लागि चन्दा दिइएको उक्त समेत उल्लेख छ । साथै स्लिपमा नोभेम्बर १०, २०२० मिति उल्लेख गरिएको छ ।

कोभिड संक्रमणका कारण मेनन मार्च २०२० देखि कार्यालय गएका थिएनन् । उनले घरबाटै अनलाइन कक्षा सञ्चालन गरिरहेका थिए । हालै सम्पन्न फल सेमेस्टरका लागि करिब एक वर्षपछि कार्यालय पुग्दा उनले उक्त बाकस फेला पारेका थिए । एक वर्षसम्म उक्त बाकस धुलो जमेर बसेको थियो ।

मेननले रकम फेला पर्दा आश्चर्यचकित बनेको प्रतिक्रिया दिएका छन् । एक सय र ५० का नोटले भरिएको उक्त गह्रौँ बाकस ढुवानीका लागि ९० डलर खर्च गरिएको उनले बताएका छन् ।

चन्दाको प्रकृति हेर्दा उक्त रकम अपराधी वा गैर कानुनी स्रोतबाट आएको हुनसक्ने आशङ्का गरिएको थियो । त्यस कारण रकमको स्रोतको खोजी गरिएको थियो । छानबिनपछि उक्त रकम गैर कानुनी नभएको र केही वर्षयता मेरिल्याण्डस्थित विभिन्न ब्यांकबाट निकालिएको फेला परेको थियो ।
रकम पठाउनेको ठेगाना फ्लोरिडास्थित पेन्साकोलाको एउटा घर उल्लेख छ । उक्त घरमा छानबिन अधिकारी पुग्दा त्यहाँ रकम पठाउने कायल पेस्ली नामक मानिस नभएको फेला परेको छ । सिटी कलेज कायल पेस्ली नामक विद्यार्थी आफ्नो रेकर्डमा समेत फेला नपरेको जनाएको छ ।
पैसाको स्रोत ‘क्लिन’ भएको फेला परेपछि हालै सिटी कलेजले त्यसलाई चन्दाका रूपमा स्विकार्ने निर्णय गरेको छ । सिटी कलेजको फी त्यति महँगो मानिँदैन । उक्त रकमले हरेक वर्ष २ जनालाई कम्तीमा १० वर्ष फुल स्कलरसिप दिन सकिने मेननको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू