अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

यो दसैँमा चङ्गा चेट् , घुम्दैछु म मङ्कीष्टेट !

युवराज मैनाली २०७८ पुष ६ गते १५:४० मा प्रकाशित

समालोचना !

यो तीन पाने मदपानले बेसुरा मदमस्त जगत्मा आँखा खोल्दै मान्छे नाउँको परानीले पनि विभिन्न खाले मानभाउका सलामी र दङ्गाफसादका मलामीसमेत साथै लिएर आएछ क्या रे ! सङ्केतका कोराइतक नजानेर लाटो बुङ्गो झैँ  पक्क परेको बेला अङ्ग अवयवहरू खेलाएर चलाएर आफुभित्रका कहर अनि रहरहरू व्यक्त गरे होलान् आदि पुर्खाले । हातखुट्टा भञ्जनका साथै दिमागी मनोरञ्जनका स्रोत, साधन पनि उनीहरूले नै पहिल्याए होलान् । नाँक खुम्च्याउनु, ओठ चेप्य्राउनु, आँखा झिम्क्याउनु, लाइन मार्नु, आँखा तर्नु चिम्लिनु अनि मुख बङ्ग्याउनु, अ‍ौंलाले विशेष क्रियाको आसय जनाउनु हात गोडाले काटुकुट गर्ने इसारा पसार्नु यावत बाङ्गाटिङ्गा सङकेतबाटै चहिँदानचाँहिदा सब कुराको काम लिन्थे हुनन् बबुराहरू । नभए पनि फरक नपर्ने तर हुँदा मज्जा आउँने उटुङ्ग्या कुराका इसारा गरेर मनको चिलाइको धुलाइ गर्थे हुनन् । यी त भए पुर्खाका कुरा ।

दैनिक खनखाँचो र लिनदिनको काम चलाउन सुरु भएको इसाराको कोराइ ढुङ्गादेखि कागतसंम्म उफ्रिएपछि कमालै भएको थाहा लग्छ । बोलीजस्तै गरेर  लिपि पनि रातारात परिष्कृत बन्दै गएर ‘वक्रोक्ति’कोरूपमा प्रयोग हुँन थालेको पनि पक्कै हो । गोठाले केटाकेटीको राग अनुरागलाई उछिन्दै ललित कला र साहित्यमासमेत बुर्लुकबुर्लुक उफ्रिएको हुनुपर्छ यो ताल । आपूmलाई उठाउने जोगाउने र फैलाउने परिवेशमा मानिसको सङ्घर्ष आमा याने प्रकृतिसँगै त रह्यो होला । तदनुसार प्रकृतिका प्रवृत्तिमा स्वयम्सँग सम्बन्धित अवलोकनहरूले गर्दा मजा लिन सचेत मान्छे वक्रोक्तिमा हेलियो र आफैंभित्र रमाउन थाल्यो । ठेकुवा गरेरै भन्द्या छु लौ !

यहाँ आचार्य भरतमुनिका चेला भामहको कथन वचन वा त्यसभन्दापछि परिभाषित अलङ्कृतिको अनुकृति गर्न खोजिएको पक्कै होइन । मात्र यहाँ त सरल शब्दार्थ लिएरै यसको तरलतापूर्वक कसरी प्रयोग बढ्दै आयो भन्ने कुराको छोटो छरितो बखान गर्नमात्र खोजिएको छ । कोइलीको बोलीमाथि भ्यागुताको लोली नै सही ।

नेपाली साहित्यको सेपिलो फाँटमा तत्कालीन समयसीमाभित्र भक्ति, शृङ्गार, आदिमा पनि प्रयोग हुँदाहुँदै भानुभक्त बाजेले पहुना लाग्दा र जेल परेको वेला वक्रोक्तिलाई स्वादैलै प्रयोग गरे । उनीपछिका अनेक कवि, आख्यानकारहरूले यसतर्फ समयको रागअनुसार नै अनुरागको चोसो पसार्दै म्वाइँ खाएर डुँडुल्ला दौडाए । हास्य रसकै छनक पाइने गरी ढुङ्गामा पराग उमारे । राजनीति गर्ने चउन्नी नेतादेखि घनगिर्दीका जननेतासम्मले पनि त्यही सिको गर्न बाँकी राखेनन । अरू त के लेखनमा उति रुचि नराख्ने सर्वमान्य नेता गणेशमान सिंहले समेत श्री ३ प्रभु नाउको व्यङ्ग्य लेख लेख्न भ्याए ।

२००७ को परिवर्तनपछि त वक्रोक्तिका स्रष्टाहरू पनि छिचमिरा भएर उम्रिए । खहरे बनेर अरूलाई न गनेर भेलझैँ उर्लिए । यसतर्फ पुर्खौली पिँडीको नामै लिनुपर्दा महाकवि देवकोटा,भूतको भिनाजु याने वासुदेव शर्मा , केशवराज पिँडाली, भैरव अर्याल घटोत्कच शर्मा, वालमुकुन्द पाण्डे,दाताराम शर्मा श्याम गोतामे, रामकुमार पाँडे आदि आदि अगाडि आउँछन । नरेन्द्रराज पौडेल, नरनाथ लुइाटेल, चट्याङ माष्टर, श्याम लामा नरमेन्द्र लामा , युवराज मैनाली, आरसी रिजाल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टङ्क अचार्य, मनोज गजुरेल आदि हास्यव्यङ्ग्यकारहरुले त पुर्खौली बीँडो थामेकामात्र छैनन् धूलै उडाएर धामी नाचै पो देखाएका छन् त । बाजे वासुदेव शर्माले यसै विधाको संरक्षणकानिम्ति ‘कौवा प्रकाशन’ नै खोले । त्यही प्रेरणाबाट हाँसने, सिस्नुपानीजस्ता मण्डलीहरू तयार भएर यसै भेलमा पेलम्पेल गर्दै हेलिए , जसको काम र नाम नै आज हास्यव्यङ्ग्यको उत्पादक प्रचारक उत्थापक र उद्धारक कम्पनीकारूपमा सुपरिचित छ । गाईजात्रामा यसको प्रयोग सिस्नुपानीको दमाहा सँगै विभिन्न पत्रपत्रिकाहरूले समेत गरे, गर्दै पनि छन् । लेखन र प्रकाशन कार्यले आसिलो चाँचोपाँजोको नयाँपन नियाल्न पाइरहेकै छ । फित्कौली,कामना,भाँडभैलोलगायत पत्रिकाहरू चाहिँ यस विरुवाका मुना बनेर दुगुना पालुवा हाल्दै पलाएकै छन् ।

अव यहाँ छाँट्न खोजिएको बखानतिरै लागौं – इन्द्रावती किनारका फाँट र पोखरे गाउँका पखेराहरुमा कान्ला फड्कदै धाइरो धुर्सुल र उँडालुका झाँगमुनि लुकीखेल्दै, बाटुले पाटाको पहारमा घरी गट्टा र घरी डण्डीबियो खेल्दै कहिले गोरु जुधाएर मङसीर मासको फाँटमा मजा लिँदै अनि जेठको धूपमा इन्द्रावतीमा पौडी खेलेर तातो बालुवामाथि लडीबुडी गर्दै काँचा आँप कोपरेर किसोरकालभरी मस्ती मार्ने विन्दास मौलाना चरित्रका नरेन्द्रराज पौडेल धेरै विधाका सिद्धहस्त लेखक भएर उदाएपनि हास्यव्यंग्य लेखनमा भने यतिखेर नाइके नै बनेका छन् । यिनका कान्छा बाजे महाकवि रेवतीरमण न्यौपानेको बीँडो थाम्नेमा अगाडि नै भ्रमण गर्दैछन् यिनी । समालोचक डा. वासुदेव त्रिपाठीले उनको पहिलो हास्यव्यंग्य कृति .घरभित्रको गाइजात्राको भूमिकामै ठोकिदिए “केशवराज पिँडाली, भैरव अर्यालजस्ता जमातमा अर्का एक जोधा प्रतिभाका रूपमा नरेन्द्रराज पौडेल प्रकट भएका छन् ।”डा.लक्ष्मण प्रसाद गौतमले भनेझैं उनी हास्यव्यंग्य लेखन क्षेत्रको नयाँ र पुरानो पुस्ताका सेतुबन्ध याने दर्बिलो पुल हुन । त्यस्तै डा गोविन्दराज भट्टराइले पनि “हास्यव्यंग्य लेख्ने थुप्रै सर्जकहरूको हूलमा साहित्यिक शक्ति र विशेषताले गहिरिएर लेख्ने को छ त भन्ने प्रश्न गर्दा एउटै उत्तर आउने छ –नरेन्द्रराज पौडेल ।” भनेर यिनको आरती उतारेका छन् । हुन पनि पौडेलका यसतर्फका कीर्तिमानीहरूमा ‘घरभित्रको गाईजात्रा’ –२०४१, ‘बिहेको निम्ता’– २०४४, ‘मङ्की स्टेट याने वनरराज्य (२०५१) प्रमुखअतिथि हुनुको आतङ्क ०६४ छुटेको छाता ०६६, विमोचनको बिगबिगी २०७२ मज्जैले बजार ढाकेर प्रख्यात भएका छन् । प्रकाशित हुन तयार अर्को कृति– भ्यागुताको श्वेतपत्रले त हास्यव्यङ्ग्य लेखनको फाँटमा अझै उधुम मच्चाउने आस गर्नु बकवास हुने पक्कै छैन ।

पौडेलका आजसम्म प्रकाशित कृतिमध्ये यो गन्थने लेखमा भने ‘मङ्कीस्टेट याने ‘बानरराज्य’बारे केही चियोचर्चो गर्न जमर्को गरिएको छ । कितापको आवरणपृष्ट हेर्नासाथ नै अब्बल दर्जाको सलामी खान उभिएका देशकै सबल मालीमध्ये लेखन्ते नरेन्द्र पनि ठुलो भाग पाउनु पर्ने रहेछन् भन्दिहाल्नुपर्ने हुन्छ । त्यसैले कवितातर्फ तीन पटक एकेडेमीको पुरस्कर लिएर पनि यिनी चुप लागेनन । निबन्धतर्फ बारम्बार सुनका पैदक र थैलभरी महीन्द्रमल्ली सोहोर्दा पनि यिनी सन्तुष्ट बनेन् । बरु हास्यव्यङ्ग्य समाज नेपालबाट ताम्रपत्र सहितको हासने विरसा पुरस्कार २०५२, भैरव पुरस्कार गुठीबाट भैरव पुरस्कार २०५९ र हासने चितवनबाट हासने सम्मान २०६२ समेत भ्याएका रहेछन् । अझ अनेसासको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसमेत हात लगाएर गजकेशरी बनेका छन् ।

उनले पाएका अरू साँडे तीन दजर्नबढी सम्मान र पुरस्कारको उल्लेख गर्न चैँ यो सानो लेखमा भ्याइएन भन्दा पक्कै खतबातको फन्दा आइलाग्ने छैन । निरन्तर हास्यखेती गर्दागर्दैपनि साहित्यका अरू फाँटमा पनि पाखुरी बजार्न भ्याएका छन् यी दोकलकाँटे प्राणीले । कविता गीत गजलमा मध्यम दर्जामै रहेपनि कथा र संस्मरणमा भने यी दिनहरूमा आएर बढ्तै मगमगाएका छन् । जे होस् पत्रपत्रिकाहरुलाई रङ्गाएर मक्ख परेका छैनन्, पुस्तकहरूमा पनि लम्कदै र बुर्कुसी मार्दै आएका छन् उनी । युवामञ्च अन्नपूर्णपोष्ट नागरिक, नयाँ पत्रिका , गरिमाा, रचना, मधुपर्क अभिव्यक्ति साप्ताहिक नेपाल , शब्दसंयोजन, सुलेख मनोभाव लगायत अनगिन्ती पत्रिकामा निरन्तर देखापरिरहने उनी हिजोआजै चैँ उपन्यास लेखनमा भिडेका छन् रे भन्ने सुनिन्छ , हो,होइन प्रमाण भने फेला परेको छैन ।

‘मङ्कीस्टेट याने बानरराज्य’भित्र ०४६ पछि ०५२ सम्मको देशमा घटेका घटना र तिनबाट सिर्जित आर्थिक,सामाजिक र राजनीतिक र मानवीय मर्मका गाथाहरू पोखिएका छन् । नेपालका घरगाउँ , सहर र अड्डाअदालतका कामचोरी भोलीवाद, दासत्व,दलाली लगायतका कथाव्यथा सँगालेर बनेको यस सङ्ग्रहमा २६ टाउके छट्टुकारिता छुट्याइएका रहेछन् । यिनै छट्टुकारिताको खैखवर के रैछ पट्टूकै शीलस्वभाव टिपेर पहिल्याइ हेरौं त ! –

मूल शीर्षक ‘मङ्कीस्टेट याने बानरराज्य’ कै कुरा गर्नुपर्दा नपढीकनै प्रेमचन्दरको ‘जामुनका पेड’ सम्झना हुन पुग्दछ भनेर मुख चोसो पारिएको चैँ होइन है । जोखाना हेर्दा झुसिलो डकारमात्र हुत्त निस्केकोचाहिँ हुँदै हो । यस मानेमा प्रेमचन्दरको हाराहारीमा पौडेललाई पनि हेरिएकोचाहिँ भन्न सकिन्छ । यसै मङ्कीस्टेट याने बानरराज्यको पुङमा भरिएका रसादिको एक घुट्की स्वाद लिइहालौं –

“व्यवस्थापिका संसद्लाई कसैले सुताहा सदन भन्थे त कसैले भुताहा घर भनेको पनि सुनिन्थ्यो । जे भने पनि यसका सदस्यहरू निरन्तर कुम्भकर्ण निद्रामा मग्न हुन्थे । बेलाबखत बिउँझिहाले दुवै हातले माडंभत्ता हसुर्दै फेरि चितुवाघुराई सुरु गर्दथे । फेरि निद्रा पु¥याएर यसो आँखा उघ्रिन नपाउँदै भत्ता बढाउने प्रस्ताव आइपुग्थ्यो । त्यो तत्कालै सर्वसम्मतिले पास पनि भइहाल्थ्यो । निदाउने र घिच्ने कुरामा यो दल ऊ दल भन्ने थिएन, सबै दल एक मत थिए ।”

यति मात्र कोट्याउने र कुराको चुरो खुट्याउने हो भने पनि यही भनाइ कालजयी बनेर पौडेल बाजे ज्योतिषके श्रेणीमा पुगेका भेटिन्छन् । किताप जन्मेको यो साँडे दुई दशकमा कैयौँ टाउका फेरिए, मकुन्डा बदलिए तर यो र त्योमा फरक के देखियो –उजागर छ । समयको फड्कोमा जैलेतैले उही खाउवादकै रँडाको मच्चाइएको छ । आफै पालिने पोषिने र देश ढुटो पार्ने बहुआयामिक दृश्यहरू नाङ्गै आँखाले देख्न सकिने पारिएको छ यसमा । सप्पै कुरा नभनी हालौँ, किताप नपढेकालाई खल्लो लाग्ला । यो पनि हेक्का त राख्नैप¥यो हैन त ?

यसपछिको विशेषता ‘समाजवादी ज्वाइँहरूका’ शीर्षकमा टाउको राखेर गिदी खाने कुराहरू खाँदिएका रहेछन् । साँच्चै भन्ने हो भने टाउकैदेखि सुमसुम्याउँदै जाँदा गर्धन कन्याउन मन लाग्दो पाराको भटिन्छ । चर्चित कला वा विशेषतालाई पछि पार्दिए पौडेलजीको के जान्थ्यो कुन्नि । तर टाउका हल्लाउनकैलागि प्वाक्क बोलिदिएका छन् “समाजवादी ज्वाइँहरूको सबभन्दा ठुलो विशेषता भन्नु नै हल्लामुखी हुनु हो ।” तिनका हल्लामा के के छन् त गह्रुङ्गा, साह्रा कुराहरू यसै हरफमा उनी सुसेल्छन–
“अर्थात् सभा, सम्मेलन, नारा र जुलूशजस्ता कुराहरूबाट यिनीहरू कहिल्यै अघाउँदैनन् । नेता र मन्त्रीहरूको शिखर सम्मेलन हुँदा ज्वाइँहरू फेदी सम्मेलन गर्न व्यस्त रहन्छन् । किनभने शिखर सम्मेलनमा देश बनाउने कुरा भएछ भने फेदी सम्मेलनमा मुसा लगाएर भित्रभित्रै कुटुकुटु खनाएर डाँडै पहिरो लडाउने निर्णय हुन्छ । अथवा फेदैमा करौँती रूपी हतियार रूइरूइती चलाएर देशरूपी तथाकथित बूढो वटवृक्षलाई गल्र्याम्मै सुकाउने अनि काटकुट पारेर भागबन्डा लगाउने र त्यसकै आगो तापेर न्यानो मनाउने कार्यमा त्यस्ता सम्मेलनहरू अधिक फलिफापसिद्ध हुन्छन् ।”

त चिन्नुभयो ? को हुन् समाजवादी ज्वाइँहरू ! यही चिनाउनै चाँजो मिलाउन पलेँटी मारेर टी टेबलमा सलक्क लेबल लगाएर सरर डटपेन दगुराउनमा खप्पिस पौडेलका पण्डित्याइँको लेवल अलि बेग्लै प्रकारको देखिन्छ । चुलिइसकेका भैरव अर्यालको लख काटेकै भएपछि कुन स्कूलक चेला रहेछन् , चिनिने भइहाल्यो । चिनेरमात्र नपुग्नेगरी चर्चित कलाको चौसठ्ठी आसन नै कोरलेका छन् यसमा । सुरुमै भाषाको भाखा हालेर रहस्यवादी भइटोपलेका पनि छन् यसमा । जीउडालको जुम्से चिम्से भए पनि ज्वाइँहरूको तागत क्षमताको बखान लम्बेतानसँग गरिएको छ, जसको दुवै पाटो लाटाले पनि बुझ्न सक्नेगरी भनीटोपलेको पाइन्छ,–

“समाजवादी ज्वाइँहरू भाइरस याने विषाणुप्रुफ हुन्छन् । कस्तै रोगले पनि छुन त परै जाओस्, टाढैबाट यिनीहरूको दैत्याकार अनुहारमा नियालेर हेर्नसमेत सक्तैनन् । एड्स रोगले त रौँको टुप्पोसमेत छुन सक्तैन ।” आदि इत्यादि । बाँदरले जुम्रा केलाएझैँ केलाइएका छन् ज्वाइँहरूका विशेषताः । यो पनि विशेषगरी ०४७ सालपछि नेपाली रजनीतिमा उम्रिएका समाजवादी ज्वाइँहरूका बारेमा ।

यसपछि चिलाइ जगाउने फलाक्याइँ भनुँ या धुत्र्याइँ छाँटिएको रहेछ ‘बहुला कुकुरको खेती’ मा । धत्तेरिका के पत्याउनु यस्तो कुरा ! कामसाम छैन, खेती भन्ने कुरा त खाने लाउनेको पो हुन्छ । राँगा, खसी, माछा, कुखुरा, खाद्यान्न, दालान्न, तेलान्नका पो खेती हुन्छन् । यो त कुकुर, त्यसमाथि पनि बहुला कुकुरको खेती । यस्तो उख्ल्याहा कुरा गर्नु पनि मनासिव हुन्छ त ? शीषर््ाक भनिने बत्ख्वाइँको घन्टाउको हेर्दैमा जम्प गर्दिऊँ कि लाग्या थ्यो मलाई पनि तर पानामात्र पल्टाउन के लाग्या थेँ नरेन्द्रराज आएर औँला ठड्याइहाले । बाहिरभित्र जताततै पानाभरि तेर्सिएका देखिए औँलैऔँला । अनि त आफू लुसुक्क अक्षरहरूमा घुस्रिएर भुसुक्क हराउन करै लाग्यो,सुरुका उनका कुरा जस्तै – “आफू पठ्याङ्ग्रो छँदा पाठशाला पढेको कुरा सम्झिएर अहिलेसम्म पछुतो लाग्दैछ । त्यतिखेर गुरुहरू भन्थे, “प्रजातन्त्र भनेको जनताकालागि जनताको सरकार हो, यसमा राज गर्ने पनि जनता नै हुन्छन् ।” कुरो सुन्दै तत्कालै आफू पनि जनता बनेर प्रजातन्त्रको उपयोग गर्दै राजपाठ सम्हाल्ने तुजुक उठ्दथ्यो । त्यही तुजुकमा उपबुज्रुक बनेर नारा जुलुस गर्न लाग्दा कतिपटक पुलिसको लाठी मुङ्ग्रीमा झन्नै खुत्रुक्कै परियो … … ।”

“साँच्चै भन्ने हो भने प्रजातन्त्र भनेको बेलुनतन्त्र रहेछ ।” कसैले बेलुनतन्त्र भन्छन् त फेरि आएर गुलेलीतन्त्र पनि भन्दिदो रैछ कोही । सयभन्दा बेसी सहिदको रगतले ठडिएको प्रजातन्त्रको हुर्मत काडेर यतिविधि मनपरी भन्न पाइन्छ त ? आप्mनो भने चिरिक्क मनै चिरियो । तिम्रो नाम नै नरेन्द्रराज पौडेल होइन , मनपरीतन्त्र पौडेल भो जाऊऽऽ भन्ने कुरा पनि यो धुन्धुकारी मनमा निस्कियो । बढ्दै जाँदा, पढ्दै जाँदा कतिखेर कौतूहल आएर लुसुक्क मनमा पसेछ , थाहै भएन । हेर्दा दुब्लो, छाम्दा चिल्लो के हो भन्दा भन्नै नपर्ने गरी घुमाइ मुन्ट्याइ उठाई पछारी फेरि उठाउने रिमोट पो रहेछ पौडेल भन्ने जीव त ! अनिपछि बल्ल थाहा लाग्न पुग्ने रहेछ आलुमाथि पिँडालुझैँ भैरव र पिडालीको बिँडो थाम्न खोजीपसेको । प्रजातन्त्रको सोझो राजमार्ग स्याहारसुसार नपाएर वा वर्षात्को मौसममा हिलो खेल्ने साधन पो भइदिएछ प्रजातन्त्र हो कि जालतन्त्र त । यसैले ‘जसको हातमा बिँड छ उसले नाङ्गो खुकुरी नचाएर सबेको भाग लाटलुट पार्दै आफूतिर आँखा लगाउने दुस्मन, वैरी जतिलाई गिँड्छ । नसकेपनि छाँट्दै, छिमल्दै र छप्काउँदै हिँड्ने व्यवस्था नै खास प्रजातन्त्र हो भन्ने एक खाले बुज्रुकको भनाइ पैँचो लिँदै ‘बौलाहा कुकुरको खेतीको चाँजो मिलाइएको रहेछ । आलु खेती, उखु खेती, भैँसी खेती, मकै खेती आदि आदि ओकल्दै यसमा बहुला कुकुरको खेती कसबाट कुन रूपमा भइरहेछ भन्ने कुरा गिदी नै पग्ल्याएर चुहाँउँदै हिँडाइएको देखिन्छ ।

सोझो कुरालाई बाङ्गाटिङ्गा कुकुराभित्र–बाहिर कहाँ कहाँ घुसाउन वा ललीपप झैँ चुसाउन सकिन्छ भनेर खोज्ने कलालाई नै वक्रोक्ति अर्थात् व्यङ्ग्य मान्नुपर्ने हुन्छ । वक्रोक्तिकै बारेमा गन्थन गर्ने हो भने साहित्य सिद्धान्तमा लाउके र टाउकेहरूले कुराका घट्टेकुला बगाएका छन् ्।  यो कोट्याई रहनुपर्ने कुरा लाग्दैन, मात्र सुँगिदिए पुग्छ । भन्दामा लरतरो गर्दामा पुग्न गाह्रो चुचुरो झैँ वक्रोक्ति अर्थात् व्यङ्ग्यमा हास्य पनि सुटुक्क छिराउने काम झनै गाह्रोमात्र होइन औधि साह्रो पनि हुँदो रहेछ । यसका स्रष्टाले थुचुक्क बस्दा पनि पसिना तरतरी काढ्नुपर्दो रहेछ । यही कुराको हेक्का सबमा भया यस फाँटमा मच्चिन मन लाग्दा रिङ्गटा लागेर पहिले आफै थच्चिँनु पर्ने रहेछ भन्ने कुरा पनि ‘बाँदर राज्य’ले देखाइ नै दिएको छ । बारेको बार नाघ्न ढोका नभएपनि टुँडिखेलको बार नाघ्न लुगासुगा स्याहार्नु पर्दोरहेछ । माथिल्लो एकै बात राजनीतिका कबाफपछि  रवाफ देखाउन आफ्नै मुन्टो फरक्क फर्काएका छन् पौडेलले ‘डेराको डण्डा’ मा । डेरा गरी बस्नेले घरमा बसेँ भन्नु र फर्सी खाएर खसीको पक्कु भान्सा गरेँ भन्नु एकै हो भन्ने निक्र्यौल पहिल्यै निकाल्दै यही बारेमा यही फाँटमा चहार्ने विल्टुवा काम भएको रहेछ । खाँटी कुरो त के हो भनेँ पहाडबाट कचौरारूपी सहर (काठमाडौँ) भित्र मुन्ट्याइँको मनुवाको खास कुरा खासखुस नगरिकनै ठाडै ओकली दिइएको रहेछ यसमा –

“पहाडको शुद्ध हावा छोडेर शहरपसेपछि पढेर विद्वान् हुनेमात्र होइन, रोजगारीको डुङ्गा समातेर बेरोजगारीको वैतरणीसमेत पार हुने दिवास्वप्नमा गल्ली, डबली र फुटपाथहरूमा झिँगा भन्काउन थालिएको छ । यो थालनीको सुरु सुरुमा कुरा त उही त हो नि । पहिलो दिन बबुरा साथीको डेरामा गुजारा त्यसपछि भौँतारिएर डेराको खोजी गर्दा पुरानो खाले घरको छिँडीमा डल्लिनुको मजा । नालाको गन्ध, लामखुट्टे कर्नालको मनोरञ्जन त्यसमाथि कोठाको अँधेरो , यो अँधेरो पनि दुई प्रकारको एउटा विद्युत् प्राधिकरणको लोडसेडिङ अर्को घरपतिको । धारा खोल्यो कि वचनले पोल्यो आदि यावत स्वपुराण यसमा कथिएको काव्य छ । पढाइमा आलु खान परेको तालु घस्याइ छ । अनि छ बिरालो ब्याएझैँ डेराका दुलाहरुमा पस्दै निस्कदै दिनदिनै रमिता गर्नुको ढाडे लखेटाइको मजा । घरवालाको खप्कीलाई समयको हप्काइ र वेदनासाथ वक्रोक्तिमा ल्याएर जुन माहौलको सार थुपारिएको छ त्यो नै डेराको डण्डाको हनाई बनेर बज्रिएको छ । वेदनालाई दनादन व्यङ्ग्यको मलमवाण हनाइएको छ ,यसलाई विरलताको मरुभूमिमा एउटा बोटको सुलभताको रूपमा आँक्न सकिन्छ ।

डेरावालको डढेलोपछि आफ्नो कर्मको एक पाटो अर्थात् नेपाली साहित्यको हिँडाइ, लवाइ, बोलाइ आदि इत्यादिलाई ठिङ्ग उभ्याइएको छ । डेरावालको गनगनभन्दा ‘पुरस्कार पाउने मेरो अठोट’ गिँडको यस अगुल्टा हनाइले नलागे पनि यसले उछिट्याइएका फिलिङ्गाहरूले सबै साहित्यिक टपरेहरूलाई मर्लान्त हुनेगरी झटारो बजारेको छ । सबछाडी पहिले नै आफ्नो दुर्दशामा आँसु चुहाउँदै डाँको यसरी छोडेका छन् यी बबुरा नरेन्द्रले  –

“मैले यस वर्ष प्रदान गरिएका सबै प्रतिष्ठानका पुरस्कारहरूको घोषणा सुनिसकेपछि मनै थाम्न सकिनँ । यसका पछाडि मैले कुनै पनि पुरस्कार पाउन नसक्नु मुख्य कारण थियो । ” उनले

चाहिने नचाहिने गन्थनभन्दा आफूलाई फनफनी रिङ्गाउँदै तपाईँ हामीलाई पनि फन्काइदिएका छन् पङ्क्ति प्याराग्राफहरुमा । पहिलो संवादात्मक कुराकानीलाई छानीछानी पढ्दा अलिक लेउ उप्किन्छ ः
“सर ! मैले यस वर्ष पनि कुनै पुरस्कार पाइन … ।”
“के तँ कवि होस् र ?”

“हजुर ! म कविमात्र होइन, पक्का कवि हुँ । महाकवि हुन मुखमुख पसाउनै आँटेको । अब अलिकति मात्रै बाँकी छ । लेख्ने मुड नभएर मात्रै, नत्र पोहोरै भइसक्ने थिएँ ।”

“ … …अरू त झन् जे पनि लेख्छु हजुर ! निबन्ध रचना नभए पनि सीपबन्द प्रबन्ध रचना अवश्य लेख्छु, … हास्यव्यङ्ग्य नसके रुन्चे सोभ्mय रचनासम्म लेख्छु । कथा नसके यथातथा लेख्छु, यात्रा संस्मरण नसके पनि विस्मरणसम्म त लेखेकै हुन्छु । उपन्यास नसकेपनि चुपन्यास त कैयौँ लेखिसकेँ । नलेखी बस्नै सक्तिनँ हजुर …”

यावत यथावत कुराहरूको तारतम्य मिलाउँदै घस्किँदै नाक घिरौँला पार्दै मौलिक लेखनबारे जवाफ दिएका छन्–
“छ, हैन, छन्, हजुर । मेरा थुप्रै किताब प्रकाशित भएका छन्, तर लेख्ने अरू र ममात्र लेखक नाउँको बुख्याँचा परेँँ ।”

यी सब झटाराहरूमा निहित टाउकोमा जे लेखिएको छ त्यसभित्र लेख्ने र लेखीटोपल्ने गरिब पत्रकार , कलमजीवि अनि लेखक बनेर पुरस्कार पउने अांसमा सास छउञ्जेल त्यही कतारो थापिहिँड्ने स्वनामधन्य लेखन्ते बबुराहरुको छिर्के दाउ र सन्निसर्पन बखानिएको रहेछ । पुरस्कार पाउने नपाउने र छेलोखेलो पाउनेहरुका भित्री अङ्गबाहेक लम्पसार परेका सबै अष्टावक्र र चौसठट्ठी आसन देखाइएको रहेछ यो उदेक उमाल्ने लेखोटमा ।

यसपछि टाउके अक्षर रहेको छ ‘थर आतङ्क’ । हालतक सुनिएका लेखिएका र गरिएका आतङ्कभन्दा बेग्लै कलाबाजी  यहाँ फुराइएको छ भनेर घोक्रे नाँक चैँ नबनाए पनि हुन्छ । किन जो भन्दा नामको पछाडि झुण्डिने थरले यो समाजमा आतङ्क खडा गर्नु कुनै नयाँ नौलो कुरा रहेन । पुच्छरले वाँदर हल्लाउने त के कार्यकर्ताले नेता भकुर्नेदेखि पियन परिचर भाइहरुले हाकिम दाइलाई मस्सल प्रदर्शका साथ नसवन्दी गर्ने र मोसो मसाजकासाथ घेराबन्दी गर्ने सुविधा पाइरहेको बेला जावो थर आतङ्क त न बराबर भन्दिदा पनि फरक पर्दैन । सुरुमा बेसुरा राग अलाप्दै बढाइएको झटारोमा नेता कस्ता हुन्थे पञ्चायती राजमा भन्ने कुरा पोख्दै जनताको मतलाई राजमतमा कसरी परिवर्तन गरिन्थ्यो भनेर कुरैकुराको चुरो मिलाउँदै धुरी छुन खोजिएको रहेछ । देशमा धेरै परिवर्तनका मूल फुटेका छन् । ती मूलहरू मध्येको मूल्याहा चाल सानातिना कर्मचारीको मुखमा थोरै चारो परेपनि हाकिमरूपी अधासुरको मनमा औडाहा छुटेर मुटु खाने रोग लाग्ने परम्परा कायममात्र होइन झन् साह्रो मौलाएको छ । त्यसैले अहिले त्यही मतदाता नामावली तयार पार्न करोडौँको ठेक्कापट्टा गरेर कम्प्युटररूपी कमिसन दलाललाई अघि सार्ने महान् प्रजातान्त्रिक कार्य गर्न थालियो … । पञ्चायत कालको चुनावरूपी पार्कोटे गाईले कम से कम जर्सी गाई वा गुजराती भैँसीको अवतार नलिए केको प्रजातन्त्र …? ” कुरा फुर्दैगएपछि मतदाता सूचिको हुर्मत लिन खोजिएको टाउके बोली खुल्दै आउँदो रहेछ । थरजातको वर्णविन्यासले कर्णकटु राग लिएर तलमाथि किट्टी परेका कुराहरूको दमाहा बजाएका रहेछन् यहाँ । तर लुइँटेल बाजेको दमाहा चाहिँ होइन है !

हरिहारे जुहारी चले । “पहिले पहिले असार मासको दबदबे हिलोमा धान रोप्ने रोपार र हिलो फाँड्ने बाउसेहरूका बिचमा गीतको जुहारी चल्थ्यो । अर्कोथरी जुहारी नौलिङको लेक र कालिञ्चोकको भेगमा लाग्ने जात्रैपिच्छे चल्दथ्यो । भोटेसेलो गाउँदा गाउँदै कतिपय माइपराङहरूले मैच्याङलाई घिच्याएर पाल्सी रूवावासी गराउँदै बेहुली बनाएर आफ्ना घरमा भित्राउँथे तीजको जात्रामा … ।” आदि ।

शिलान्यास हो कि उद्घाटन हो, थाहा नपएका सुयोग्य प्रमुख अतिथिको मर्मत सम्भाारको राम्ररी थिति बाँधिएको रहेछ शिलाघटन नाउँको लेखोटमा । यहाँ फेरि शिला, सिला सीलाको अक्षरे दन्तबजानमा एउटाले अर्काको गाला ताकीरहेको बेला वैयाकरण वा ब्याकरण अनि व्याकरणको वी नै खन्तीखलाँस हुन लागेको त होइन ? कहिल्यै मुखबुझो नलाग्ने अनिकालको बेला शिलाघाटन पनि खुरूखुरू थपिने तीन महिने चल्लाझैँ भएको रहेछ ।

नक्सामै राजमार्ग उद्घाटन गर्ने नेताजीलई मजैले चखाउन खोजिएको रहेछ अचार त । तर दुरुम्पानी लागेर पठ्याङग्रो बनेका अतिथिलाई कार्यकर्ता नानीका लाइन मार्ने बानीव्यहेराले चक्मा दिएपछि के लाग्छ र ? “होइन बाटो त हङकङतिर जाँदै थियो व्यापार गर्न भनेर ।” यो वाक्यले नै नेपालको विकासको खाडी मलेसिया र हङकङतिरको लम्क्याइ छर्लङ्ग्याइएको भनिरहनु परोइन । ऊ बेलादेखि यो बेलासम्मको चम्क्याइ उही हो जनताको रगत बगाई जति बढोस् । टाउको ठोकाइको चालढाल उही हो भन्ने बुझाइ झिलिक्क मिलिक्कको स्टेयरिङ चलाई ड्राइभरे चाल खुलस्त बुझाइ दिएको देखिन्छ ।

उइलेका कुरा खुइलिए भन्ने भनाइलाई मात्र होइन टाटै पल्टाउने गरी “विचरा बिरामी बबुरो” मा भट्याइको कुरोको चुरो दिमागै टट्टाउने गरी काउसो फुलेझैं फुरेको देखिन्छ न भुतो न भविष्यतिको चढाइमा । हर्षबढाइँका टोप तोप दुवैलाई लोप नगरी भन्ने हो भने अनसने डाक्टरको रोपाइँको हलोजोताइ पनि उही पाराको छ । छुपुछुपु रोपाइँ त उहिले र अहिले चोरेर ल्याउँला भन्ने र धत् पापी अलग्गै बसूँला भन्ने परम्परामा न त अलग्ग बस्न सकियो न बस्न सकिया छ । अझ त प्लटिङ र योजना आयोगको अतियोग्य नियोग हर्ताकर्ताका सुयोगले राज पौडेल नरेन्द्र तालुमा आलु फलाउन कम्मरै कसेर सनातनको तानपुरा बजाउँदै भजन गाउन थालेका देखिन्छन । “यदायदा हि धर्मस्य ग्लानिर्भवति भारत । तदातदा….  ”

अभिव्यक्तीय चौरासिया कलाकै मुख निन्याउरो पार्न पनि पौडेल जी पनि कम्मर कसेरै लागेका भेटिन्छन । बाजे बराजुले गायत्रीमन्त्र जपेझैँ विचरा बिरामी बबुरोकोमा पनि महानगरपालिकाको सम्भावित टावर झैँ चुलिएको खप्परले ताबडतोड कङ्क्रिटे राजधानीलाई टेवा पु¥याएर वाहवाही लुट्न भुट्न जुराएकै छ ।

“खबरदार आइते मिजारलाई सार्क लागेको छ ।” टाउको राखेर छास्ने छिमल्ने अर्घेल्याइँ गरेछन अर्को लेखोटमा । वेलामौका धामीका आँङमा वायु जागेझै यो देशमा पनि सार्क नाउको फोरम जाग्ने निदाउने गरेको धेरै भैसक्यो । संसद्मा भोका नाङ्गा बिपत्तिग्रस्त जनताको चिन्ताभन्दा भाषाको गफ छाँट्ने, भत्ताको तिरियलको सिरियल देखाउने कोही समावेशी अप्रत्यक्षका घाँसी छैनन् क्या रे ! जारीको जार कुबेतको खार खाइरहेको अवस्थामा मिजारमथि ओइरिने अत्याचारको संस्कारलाई ‘राज’ मै राखेर ‘मिजार’ उचालिएन भने के नापियो के पाइयो ? साग मुठाको बीस तेरो कुरा इस् ! भन्न मन लाग्दछ तर भनियो भने लाग्दछ फीस । देखिएन ? छर्लङ्गै ६०१ मा भाग गर्दा वीषवृक्षलाई गरिएका किस्को हट डिस्मा न्यानो अर्थात् गरम गरम भरम नतातिँदा मुखबाट अग्नि बर्सिरहेका विश्वरूपको चमकदमकले नाचिरहेका छन् जनता । छमक छमक त्यो सार्कभन्दा अझ डार्क त छापिएकै छन् भागबन्डाको । पार्टी बाहिर अन्डै अन्डा, पार्टीभित्र प्रतिशत सुरसाको हाइकु धन्दा । घरघरमा टीभी राख्न नसकेको बेला परेर होला , सबै जहान परिवार सार्क लागेर टी.भी. हेर्न छिमेकका घरतिर छागेछन् । रित्तो घरको खाली ओछ्यानमा उत्तानो टाङ लगाएर यसो आँखा लाग्दैमा अघि जुत्ता मर्मत गराउँदा हप्काउने मिजार सपनामा झलक्क देखाप¥यो । अनि आफैलाई सतर्क गराउँदै मनमनै भन्न थालेछु – “खबरदार ! आइते मिजारलाई सार्क लागेको छ ।”

“अरूका लागि यो सिजन वा मौसम भन्ने चीज पालैसित आउँछ । जाडोमा गर्मी हुँदैन भने गर्मीमा जाडो हुँदैन । मङ्सिरमा बाली भित्र्याउने सिजन आउँछ भने जेठ असारमा बाली लगाउने सिजन आउँछ । तर यो सर नामक प्राणीका लागि चाहिँ सधैँ बाली भित्र्याउने सिजन मात्रै आउँदो रहेछ ।” ‘सर र सिजन’ टाउको राखेर डाढमाथि गरिएको डाडोमा ठडिएका ठाडठाडा कुराहरूको भाँडो कलेज पढाउने गुरु वर्गमथि घोप्ट्याइएको रहेछ । अल सिजन बाली लाग्ने अहिलेको बेलाभन्दा पहिलेकै कुरा भन्दिनु पर्ने भो यहाँनिर । तर माष्टरे टपर्टुइँयाँ तालको कमालले यतिबेरै अमाल कचरीको झैँ कुरैकुराको माल कानैपिच्छे भरिएको भने टड्कारै देखिन्छ । सदाचार, समाचार सप्पैमा ‘अ’ लाग्दै गएको फाँटवारी पद, अधिकार नभए पनि खोस्ने प्रयासमा झट्कारेरै झ्याप पारिएको छ । अर्को ‘अ’ निधारभरि पसिना चुहाएर अन्तरिम र तदर्थको माखेसाङ्लोमा पनि नाटकमा विदुषकले झैँ सोझा कुरालई बाङ्गो भट्याएर असत्ती जतिको कन्पारो तताएइको भेटिन्छ । हुन पनि देशलाई सधैँ संक्रमणको अगेनामा सेकुवा बनाएर नेताजतिले जनताको हाडमासु पगाल्ने काम गणतन्त्र अगाल्ने नाममा मौलाउँदै आएको छ । यसकै गेडो टिपेर जुहारी खेल्दै अन्तरिम र तदर्थको माखे साङलाभित्र जनताले निराजु मुलूकको वासिन्दा बनेर भोक महगी अभाव र उत्पीडनको गरलपन गर्नु परेके कुरा टड्कारो घुसाइएको छ –

“भर्खर बहुदले प्रजातन्त्र आएकोले डराई डराई साहुलाई सोधेँ । तै थामिएर भन्यो यो अन्तरिम सरकारले जे पनि भन्छ, चन्दा कमिसन पनि माग्छ, भाउ पनि घटा भन्छ ।” यस प्रकार दुलोभित्र बसेर मोटाएका साहु र अ‍ेडारभित्र गिठ्ठा भ्याकुरसमेत न पाएर दाम्रिएका जनताका उकुसमुकुसलाई, क्वाँ क्वाँ रुवाइको डाँकोमा परिणत गर्न सकेका छन् यिनले ।

अझै अगाडि बढ्दा “फुटबल खेल एक, खेलाडी अनेक ” शीर्षकमा घन्टाउके दाउ लगाएर जुँगा नभएको ओठमाथि औँला मुसारेर भए पनि सानु नानीले लामो धोती ओडेर फेर फहराइएको भेटिन्छ । हुन त फुटबलको कित्तामा विदेशीको पैसामा स्वदेशी टीमलाई बर्षैसाल हराइआएका राष्ट्वादी,इमान्दार, खेलडीको कमी छैन यहाँ । त्यसमथि विदेशबाट अएको खेलकूद रकमले व्यगित बैंकव्यालेन्स समढन्न फुलाएर विधायिकासमेत कब्जा गर्न पुगेका महान् देशभक्तको अगाडि यस्ता हल्क कुरा न गरिदिया भए पनि हुन्थ्यो भन्ने तर्क पनि नउठेको हैन । कुरा कथिएको बासी भए पनि मरमसला हालेको बिरियानीकै ताजा बाफको नयाँ स्वाद लिने तारे होटलका बेरालेझैँ चतुरता देखाइ छोडेका छन् पौडेलले । प्रतीकात्मक भकुन्डो हान्ने खेलाडी कस्ता कस्ता हुन्छन् भन्ने कुरालाई हलुवामा बालुवा होइन कि काजु, पेस्ता हालेरै पस्किएको चाहिँ यसमा पनि छ । यसरी भन्न सकिन्छ कि पौडेल जी पक्का बेतालिमे सेल्फ अर्थात् स्वनिर्मित मान्छे रहेछन् । अरब गएभने दलालले घँचेटिदिए पनि गोल्खाडीतिर गुटमुटिने हैन , बरु शेख, मौलवीको छत छहारीमा कचहरी जेतेरै हुरीवर्षादेखि ओतिएर पोल्टाभरी रेमिट्यान्स बोकेर ल्याउन सक्ने चङ्ख मान्छेजस्तो पो लग्यो ।

अहिलेको होइन यो मङ्की स्टेट याने बानर राज्य । उहिलेको अर्थात् २०५१ सालको । त्यसमाथि त्यस बेला छापिएर खलास भइसकेपछि हेर्लास् चाख्लास् भनी २०५९ मा फेरि पटकपटक गरेर  ५ हजारै प्रति छापिएको रहेछ । तर पनि शेष विशेषमा आएर निशेष बनीसकेर हाल बजारमा पउनै धौ धौ पर्ने । त्यही निहुँमा कसैसंग मागेर पढ्दाको मजा चाख्न पाइने । भन्नुपर्दा न चाउचाउ, न चक्लेट, न बिस्कुट हो यो त एभरग्रिन लकेट पकेट भन्नै कर लाग्छ । नौ महिने सरकारलाई ढलाएर उही सरकारले राखेको बजेटको बिँडो थाम्दै अर्को नौ महिने भनिएको सरकार नाप्दै गर्दाको यो क्षणमा लक्षण के देखाउँदै छन् त पौडेल बाजे ‘यस पालाको बजेट’ मा ? यो थाप्लोको टीकामाथि छैन कसैको छेको ।

‘पालो फेर्ने दिन, महिना र वर्षको अनन्त क्रममा पोहोरको पालो पुगेर यो पालो अगाडि आइपुग्यो । जनमुखी नयाँ बजेट लागू गरेर काउकुती लगाउँदै जनतारूपी केटाकेटीका भुँडी खाने काममा …” आदि इत्यादि कुराको कथन गन्थन गर्दै बजेटको आन्द्राभुँडी निचोर्ने काम यसमा गरिएको देख्दा भन्न मन लगिदियो – भान्छा शास्त्रमामात्र होइन अर्थशास्त्रमा पनि छरपस्ट रहेछन् पौडेल बाजे । यहाँनिर चैँ बजेट पुराण फलाक्न पुगेका छन् दर्शनको स्पर्शन गर्दै –

“अरू देशमा हिराको खानी त राजश्वको स्रोत बन्न सक्छ भने हाम्रो देशमा पहिराको खानी किन त्यो बन्न नसक्ने ? त्यसमा पनि सर्वोच्च र सर्वोत्कृष्ट पहिराको कुनै कमी छैन । यस अवस्थामा पहिराको सर्वोत्तम स्रोतलाई अगाडि सारेर विदेशी दातृसंस्थाको आँखामा छारो हाल्दै दिग्भ्रमित पारेर दान, अनुदान र जेजस्तो दातव्य पाइने हो, त्यसलाई सकेजति र पाएजति गोज्याउने चाँजोपाँचो मिलाउन आजकोलागि जति आवश्यक मानिन्छ, भविष्यमा त्यत्तिकै अनिवार्य पनि बन्दैजाने कुरामा शङ्का नगर्नु बेश । ” कुरा र कुलाका कुरालाई चुल्याउँदै उहिले नगएको अहिले गएको पहिरो र त्यसैमा भएको क्षति खति र घरवारमा भएका बेथितिका कुरासमेत अड्कलेर सेफबाट निकालेका रहेछन् यी लेखन्तेले । सायद यही कारणले नै –उहाँ जी.एम. साप् हुनुभयो, किनकि उहाँका थुप्रै विशेषता थिए भनेर पखाल्छन उनी । यहाँ भनिएको प्रत्यक्ष वर्णनको स्वाद पनि टिपाइहालूँ ।

“दुई प्लेट मःमः र पाँच सात गिलास लोकल बिजुलीपानी तन्काएपछि पसलेलाई नजिक बोलाएर लरबरिएको देववाणीमा आफ्नो गैरवपूर्ण परिचय दिनुभयो । ..उँभोपट्टि मूलबाटो र उँधोपट्टि टुकुचा बगेकै ठउँमा छेउभित्तो समातेर अडिन खोज्दाखोज्दै उहाँको काञ्चनकाया अधीर भएर त्यही हिलोमा आँधीको चपेटामा परेको विशाल वटवृक्ष जस्तै गर्लामगुर्लुम धराशयी हुन गयो । अर्थात् उहाँ जी.एम. साप हुनुभयो । अर्को अर्थमा जी माने गुहु, एम माने मुखभरि । ” समकालीन सरकारको छनोट नेता वर्गको इच्छाशक्ति र संस्थानहरूको ल्याकत र मूल्याङ्कन मजैले गरिभ्याएका रहेछन् यी चङ्ख स्रटाले । बेकामे मान्छेका नकाम धाकधक्कू अनि आकाङ्क्षाका लडिबुडी घम्साघम्सीका छवि मज्जैले छरपष्ट परेका रहेछन् यसमा ।

दैवी विपत्तिजन्य थरी थरीका पीडाले थचारिएका मान्छेहरूको चिन्तन पनि धर्कैधर्कामा कोरिने नै भए । तिनै धर्कामा सहायत दुरुपयेगको लर्को कसरी लगाइन्छ ? त्यसैको रीत बाढीपीडित सहायता सङ्घबाट छट्काइएको रहेछ । आँसु पसिना बगाइएको रहेछ । नत्र बाढी पोहोर पनि आएथ्यो, परार पनि आएथ्यो तर यस पालाको बाढी अन्तर्राष्ट्रिय तस्कर गिरोह भएर आएछ भन्न भ्याइन्छ नै कसरी ? वृत्तान्त  चियाइएको छ चाटुकारले झैँ । चट्काइएको छ भट्भटीमा यसरी र भट्याइएको छ लौकाटले झैँ बोलिएको वाणिमा । बोली सुनौं त एक पल्ट ।

“गाँजा खेती सपा¥यो, धान खेती बिगा¥यो । मोहीलाई बगायो । जग्गाधनीहरूलाई आफ्नो रैकरमात्र होइन पर्ती चउर सारा गाँसेर आवाद गर्न सघायो । कच्ची घर डुबायो, पक्की घर हुनेहरूलाई हवाईजहाजमा उडायो । मजदुर जति यमलोक गए, मालिकहरू शक्तिकेन्द्रमा पसेर बाढीपीडितका नाउँमा आप्mनै भुँडीभर्ने रकम निकासा गराउन थाले ! ” सप्पै वर्णन गरी त के साध्य ?  भँगेराले कागुनु टिपेझैँ तपाईँ हामीले देखेका भोगेका सप्पै कुर ट्याप्प टिपी छरिदिएका छन् यसमा । देखेर पनि हेर्न नसक्ने हामी भोगेर पनि भकाभक भ्याउन नसक्ने हामीलाई दामी कार्टून हो कि खसी चैँ हो , पारेर उभ्याएका छन् यी पारखी लेखन्ते मनुवाले ।

आनन्द पनि थरी थरीका हुने नै भए, कसैलाई केमा कसैलाई केमा अनन्द । मुलुकमारा घरज्वाइँलाई भने खानु र खाइरहनुमा नै आनन्द आउँदो रहेछ । ससुरालीलाई भने जुटाउनै फसादानन्द । धेरैलाई हुनुमा आनन्द त केहीका लागि नहुनुमा पनि आनन्द लाग्दो रहेछ । नरेन्द्र राजको टाउकैमा बाँधिएको छ “लेखक नहुनुको आनन्द ।” हुनुबाट हनहनी मनी भित्र्याइरहेको यो बेलाको मात्र लेखक नहुन चाहन्छ र कोही ? कथाकार, कविको छवि साह्रो भए पनि, गीत गजलकारको कप आधा रित्तो भन्दा के पर्ला ? उपन्यासकारको कार त दौडेकै छ रे । आँपको आँप बियाँको दाम भनेझैँ वार पनि पार पनि रहन थालेकै छ । आपूmले लेखेको उपन्यासमा आफैले हस्ताक्षर दान गर्न पाइरहेकै यस्तो बेलामा पनि नहुनुको आनन्द रे ! दाह्री पालेर के भन्दैछन् त पौडेल बाजे यसमा । नहुनु अरू थोक भए पो आनन्द ! लेखक नहुनुको आनन्द मान्दैछन् उल्टे कुरा ।

अङ्गुर अमिलो लाग्याजस्तो छ ? सोच टाउकोतिर उफार्दा मलाई पनि यस्तै लाग्या थ्यो । तर पढ्दैजाँदा जाबो एक पङ्क्तिका निम्ति ‘लेखक’ जोडदिया रहेछ । जो हुनु नपरेको थियो त्यो हुनु परिरहेछ भने झैँ । संसद्मा भएको भए नियमापत्ती भनेर टेबुलै ठटाइन्थ्यो, अगाडि परे कठालै समाइन्थ्यो । तर हावाको मान्छे परियो आफू त । चिन्नु नजान्नु घँचेटीमाग्नु भनेझैँ हुने रहेछ । नहुनुको आनन्द र हुनुको विषादी पनि तरकारी, फलफूलमा झैँ यसैमा घुसाइएको रहेछ । महँगो शिक्षा, स्वास्थ्य, आदि आदिका भूतहरू ओरालिएपछि लेखकका लेखाइ व्यथालाई बङ्ग्याइएको रहेछ । साथै आफ्नो पौरुष पनि उठाइएको रहेछ । तर यो टालो अलच्छिनी त छैन ? त्यसै त विभेद विभेद भनेर रेड फ्ल्याग उचालिरहेक छन् ब्रोहरू । डर छ फ्ल्याग स्ट्यान्ड पुर्पुरोमा पर्ला भन्नेमा ।

टाउकोमा अर्को रिबन बँधाई अर्थात् खप्पर बेर्ना बाँधिएको छ ‘नमस्कार भाउजू’ । हुटिट्याउँले आकाश थामिरहेछ भन्दा खुट्टैले थाहा पाइयो भनिन्छ रे ! टाउको लुकाएर उपमा, अलङ्कार, थ्रिलर, सस्पेन्स आदि इत्यादि पस्कन पर्ने जमानामा कहाँ सोझो बँधाइको हनाई । लेखक नाउँको  जीव अजीवको हुन्छ भन्ने कुरा चपाउँदै मुख लाल पार्दै भन्नेहो भने झट्ट थपमा क्या बात भन्नचाहिँ मनै लाग्छ । चुस्स चोसो निकालेर छ्यालव्याल बगाउने शिल्पको सरिताभने बडो मज्जाले चलाएकै देखिन्छ । ‘नमस्कार भाउजू’ भित्र पनि बाँच्ने कला सिकाउँदै कचियाले खुर्कदै टलक्क टल्काइएको छ पिक्चर ।

हुन त ‘मङ्की स्टेट’ मा पुरै जनता महात्म्य भट्याइको छ । आजको जीवनरूपी महाभारतको गारत उभ्याइएको छ । यसमाथि ‘असार महात्म्य’ पनि यसैत्रिभ थपिएको छ । अहिले त झन् यो महात्म्यको स्वरूप झन् सिठ्ठी फुक्तै छड्किएको छ । बिम्ब र प्रतीक स्वरूप बौद्धिक तत्त्व जुनरुपमा उभ्याइएको छ त्यसैमा आजको सामाजिक दृश्यदर्पण र बौद्धिक आख्यानको चित्रमय झाँकी भेटिन्छ । सरलताभित्र दुम्सीको गहन छवि भेटिन्छ । विनाधनु तीरको हनाईको बढाइँ नै गर्न मन लगाउँदछ । यसमाथि कुनै शास्त्रमा सायदै भेटिने संस्कृत श्लोकको शृङ्गारले पेटै कसरत गराउँछ, दिमागै मालिस गराउन पुग्दछ । बेलीविस्तार किन गरूँ जिउभरी तस्करीको सुन बाकेर विमान स्थल आइपुगेका सांसद महोदयको महिमाको आरती उतार्दै कहिएको अन्तिम श्लोक मझेरीमा छरूँ ः
प्रत्यागतो विमानस्य स्थले राजा मिदासवत् ।
स्वर्णावतारो भुयात् वै कर्मेन्द्रिय विभुषणात् ।।

संस्कृत बुझ्नै हुन्न भने केही छैन । पुछ्रे टिप्पणी पनि यसैमा छ । तसर्थ हे पाठक गण ! यो ‘मङ्की स्टेट’ को वर्णन सुन्ने मात्र होइन पढ्ने नै दृष्टिकष्ट उठाऔँ । लड्नु, पड्नु, पढ्नु, सड्नु आदि आदिबाट नुहिरहेका हामीमध्येसँग जीउभरि छाला टाँगिएझैँ ‘पर्नु’ परिरहेछ । जुम्रा पर्नुदेखि पानी पर्नु र बानी पर्नुउपरका पकारहरू सायद मिठाई परिकारभन्दा बेसी होलान् । जहाँ ‘म’ कार हुन्छ त्यहाँ पर्नु त साकार छँदै छ । आकार प्रकार भने कम बेसी हुन सक्दछ । यहाँको पराइ भने अहिले “ज्यानलाई पर्नु पिर प¥यो ” शीर्षक लेखोटसँग सरोकार राख्छ । यहीँनिर आएर खप्परमा यौटा कुराले आकार लिँदो छ र यो मुखौटो त यौटा प्रेमगीत को हो, लोकगीतको हो कि भोकगीतको भागको हो भन्ने जिम्मा जिमदारलाई नै छोडेर मचाहिँ के गुन्न थालेको छु कि यो मुखौटो लगाउने मङ्की टाउके पहिले प¥यो कि, गीतकार पहिले प¥यो । यो टाउको दुखाई आफैले बोक्नुप¥यो । व्यङ्ग्य भनेकै पनि त यौटा टाउको दुखाई न हो । लेख्नेले टाउको थिचेरै लेख्नुपर्छ । मिसमास हाँसोको पराग छरेर पढ्नेले पढ्दापढ्दै ‘तर’ कति जमेको छ छाम्न नै प¥यो । यसैमा हेरूँ त छट्टु स्यालको चालमा लभ सभले पर्नु पिर प¥यो भन्ठानेको त जाबो एक लाइनमा सिद्धिने कुरा एक पानामा लम्ब्याएर गाडी उन्मूलनको गाथा पो गाइया रहेछ । भएन त छट्टु स्यालको चालढाल ।

एउटाले नपुगेर फेरि अर्को पुर्खाैलीको नाममा श्राद्ध गर्न हो कि सालिक ठड्याउन टाउके पट्टी फेरेर झिल्के बनेका देखापरे पौडेल महाराज “बानरहरूको प्रथम महाधिवेशन” लेखोटमा । बन्नसम्म के के बने अघिसम्म । अहिले त पत्रकारै बन्न खोजिएको हो कि समाचार लेखेर ? शिरमा बाँधिएको पट्टी हेर्दा यस्तै लाग्याथ्यो । तर यसैमा चुक्यो यो बुझक्कड ।

सुरुमै घस्काइएको पो रहेछ “बहुदलीय प्रजातन्त्र आएको लगत्तै छिचिमिराझैँ खुलेका विभिन्न राजनीतिक, सामाजिक र जिम्मेवारीविहीन सङ्गठनबाट प्रभावित भएका पशुपति क्षेत्र लगायतका बानरहरूले साझा सवालहरूमा कार्यगत एकता कायम गरी सशस्त्र सङ्घर्षद्वारा नौलो बानरवाद स्थापना गर्न ..”.आदिबाटै बानरहरूको प्रथम महाधिवेशनमा कतातर्फ प्रत्यक्ष वर्णनका पाकपुकलाई ट्याकटुक मिलाइएको रहेछ भन्ने थाहा लाग्छ । नानीदेखि लागेको बानीलाई तानी तानी बटुलिएको रहेछ । यस्तो देख्नलाई चिल, हुच्चिल, गिद्धकै आँखा मुसा चढ्ने भुँडे गणेशकै कलम चाहिने रहेछ भन्ने पनि लाग्न थालेको छ यहाँतिर आएर त ।

झिसमिसेमै उठेर “छ्यासमिसे विशेषज्ञहरूको विकासयात्रा”को कोराइभित्र हेराइ दौडाउँदा त झन्नै आाफै हराउने गहिराई पो फेला पर्नगयो । गिट्ठा भ्याकुर खाइवस्ने निरीह अकिञ्चन प्राणीको जीवनगाथा र धमीझँक्रीको तन्त्रमन्त्रमै बाँँच मरको गरलपान व्यथा विशेषज्ञसंगको विलापसंवादसम्म लम्बिदै महाभारतै बनेको लाग्दछ । विषयलाई नहेरी नदेखी लेखीटोपल्ने बान्कीका खान्की गुन्द्रुके धाक यसमा देखिँदैन । यसैले बिँडो उठाउन पहिल्यै ठाडै भनी टोपलिएको छ –

“दिउँसो चिल, गिद्ध र राति हुचिल मात्रै अवतरण गर्ने एकादेशको एउटा गाउँमा हेलिकोप्टर नाउको चिलगाडी दिउँसै बास बस्न आउँदा सबै गाउँले घरबार छाडेर जङ्गलतिर भागाभाग गर्न थाले । यो भागाभागमा कति गर्भस्थ शिशुहरू त्यही धपेटीको मौका छोपेर बाहिरी संसार देख्न निस्किए । कति अशक्त बूढाबूढीहरू दौडँदा दौडँदै भुइँमा मुख जोत्न पुगे ।”

“सोझा गाउँलेहरू सोझै भागिरहेका थिए । विशेषज्ञहरू टाठाबाठा मात्र नभएर विशेषज्ञसमेत भएकोले छेकारो मारेर अघि बढ्न थाले ।”

यी कुराहरूबाट ‘छ्यासमिसे’ विशेषज्ञहरू विकासयात्रा आरम्भमै अक्षरहरू सोझै हिँडेका भए तापनि यसभित्र बाङ्गाटिङ्गा (छेकारा) हरू छक्याउनेगरी छ्याङ्ग्याइएका छन् । यसरी छर्लङ्गकै मेलोमेसोमा ‘फुलिस’ का पुलिसहरूबाट सोझासीधा गाउँलेहरू आधारभूत आवश्यकता र विकासका पिँधैबाट गुजुल्टिका भन्काइ भुनभुनहरू समेटिएका छन् । तर पनि यहाँ सिक्काका पाटाका पल्टाउँदै भकुरिएका छन् । भकु¥याई झाँक्रीको बोली निचोरी निचोरी टप्काइएका छन् ।
“हेर बाबु हेर
अहिले राति नै
नेपाले डुलुवालाई लखेटिनस् भने
भोलि बिहानसम्मन्
तेरा कुखुरा हराउँलान्
बोका हराउलान्
पठ्याङ्ग्रा तुहिएलान्”

यी छिटाहरू झाँक्रीको मुहारबाट÷मुखबाट हिलैका रूपमा छ्यापिएका छन् । हटेका भनिएका, हटाइएका भनिएका रक्तबीजहरू स्याउँस्याउँती देखाइएका छन् । तरपनि भित्रैसम्म पस्दा देखाउनी पनि भित्रै । डाक्टरले अपरेसन गर्दा औजारै भित्र राखेर जिउ सिलाइदिएको हपहपी पनि यसभित्र एक्सरे गर्दा छर्लङ्गिन पुग्दछ ।

‘हेक्का रहोस् तर रोक्का नरहोस्’ भन्न मनै लाग्छ । यसभित्रका केही कुरा फेर्न मन लाग्छ तर मौलिकता बिगा¥यो भन्ने चठ्याईको डर लाग्छ किनकि लगनै फेर्ने कुराको निधार पट्टी देखेर झस्किने बात लागेर आउँछ । ‘फेर्ने रोग’ लागेर नै आज नेपाल र नेपालीले आफ्नो तालुमा आलु फलाइरहेका छन् । यस फेरोमा तर्सिइन्छ फेर्ने रोगको उच्चारणसमेतले अगुल्टाले पोलेको कुकुरजस्तै तर यहाँ फेर्ने कुरा रहेछ पुरेत फेर्नेको । अलि ढुकढुकीमा ब्रेक लाग्छ । पुरेत त हामी फेरि नै रहेछौँ नौ नौ महिनामा । तिनीहरूका टपरी पनि भरिनै रहेछौँ । पुरेत यहाँ लाग्दछ मात्र बिम्ब हो । प्रतीकात्मक छायाँको छाता ओढाएर गाता फेरिरहेका छन् लुगा फेरेझैँ नरेन्द्रराज यहाँ पनि मूल फुटाउँदै भन्छन्, “काठमाडौँको यस सुरम्य महानगरीमा अब आएर पानीको हाहाकार स्वभावमा भिजिसक्यो । दूधको भाउ सबैले पचाइसके । साग र दालको महँगी दैनिक प्रक्रियामा परिसक्यो । नुन तेलको अभाव र महँगी देश विकासकै रफ्तारमा दिनदिनै र छिनछिनै अघि बढिरहने भएकाले यसमा कसैलाई आश्चर्य लाग्ने छैन ।” त्यसै रप्mतारमा ‘पुरेत फेर्ने रोग’लाई सविस्तार मेलोमेसो लगाइएको छ । यहाँ पुरेत एकै अर्थीमामात्र कोचिएको लाग्दैन । देशका नेता पनि सपिण्डिमा मुछिए झैँ लाग्दछ । यही मुछाइमा अर्को “मेरो ओलम्पिक तयारी ”ले पनि यस्तै जुहारी खेल्न पुगेको देखिन्छ । यो चाहिँ सार्वजनिक मेलोमेसोमा चोसो नपरेको झैँ लाग्न पुगेको छ । तर पनि मेरो ओलम्पिक तयारी पात्र एकले अनेक मुद्रा दर्शाएपनि त्यति हिर्काउन भने सकेका छैनन् कि भन्ने अर्ध बुझक्कडको बुझाइ छ ।

काठमाण्डूको खाडले सिमसारको सेरोफेरोमा लाम लाग्दा अन्तको उडन्तेलाई पनि ग्याँस नपाउने, तेल नपाउने टन्टाको बेलामा टेन्सनको बेसनले किन न मुछ्ने ? ‘ओ.जी. एल. माने खुला आयात इजाजत’ कफन बाँधे झैँ कन्चटमा बाँधबुध पारिएको देख्नै प¥यो होइन त ? यौटा कुरा त झन्डै बिर्सिएको मङ्की स्टेट या बानर राज्य नामक यस घोचपेच पुस्तक भट्याइमा भट्यानकार नरेन्द्रराज पौडेलका टुप्पीदेखि पैतालाका नङका सबै रङ नवरङ भएर पनि हरेकमा ढङ्ग नानाथरी  चोइलिएको छ । अर्थात्  निबन्धको भाषा भावभङ्गी र अलङ्कार पोताइको विशेषता विविध खाले रहेको भेटिन्छ । यसैलाई प्रमाणको रूपमा लिने हो भने यहाँ पनि सुरुमै “उहिलेदेखिको चलनचल्तीको शब्दार्थमा ओ.जी. एल. भन्नाले सर्वसाधारण व्यापारीले बाहिरी देशबाट माल, वस्तु झिकाउन पाउने अनुमति पत्र भन्ने बुझिन्छ । तर पञ्चायती खालको प्रजातन्त्र मासिएर भर्खरै झुल्किएको खाँटी र बहुदले प्रजातन्त्रमा विभिन्न शब्द, वस्तु र पदार्थको अर्थगत परिधि पनि विस्तृत र व्यापक बन्न थालेको छ ।” यही टुक्राबाट कुरा झल्काएपछि अरू नलेखे पनि हुने देखिन्छ । तर चरा लाइनले मनिल्यान्ड गर्ने पाठक कहाँ पाउनु ? यसैले सकेसम्म तन्काइनु रहर होइन बाध्यता बनेको छ । यस्तै यस्तैको बेलिविस्तार हेर्दा वर्षाले बेलिब्रिज बगाए पनि चिचिण्डे तुम्बाको सहारामा वारपार चल्दो छ । यस्तै यस्तै चलाइहरूको चहार हेर्दै आफ्नै स्वजन परिवारसम्मको भिजाइलाई छुँदै यसरी भनिएको पनि छ । चह¥याएको घाउमा कलमको मलम लगाउनेतर्फभन्दा झन्डावाल व्यक्तिको छाताको डन्डी समातेर खुसामद गर्ने तर्फ लेखकहरू उर्लिदै बहकिन थालेका छन् । बहुदले खालको खाँटी प्रजातन्त्रले नेपाली साहित्यमा लगाएको आजसम्मको सबभन्दा गुन पनि सायद यही मात्रै होला ।

यी पौडेल बाजे कति आगो छुँदा हुन् ? यता पनि आगो उता पनि आगो, कुना कन्तर छोइदिया छ, आकाश पाताल भ्याइदिया छ । ग्याँस बाइन्डर झैँ सप्पै सप्पैमा उही झिरीझिरी । आँखा नै तिरिमिरी ! यहाँ बनै खायो डढेलोले मनै खायो … भन्दा आँखै खायोको सार्थकतामा तैँ मोरीको पापी मायाले त चट्ट आफूबाट उछिट्टिएर फुत्त कता लुक्न पुगेछ । गुनगुन यही गीत गुनगुनाउँदा छनक्क चुरा बजेपछि पो भनक भएछ “तैं मोरीको पापी मायाले ।” रोल न सोल आजका नेताहरूले तानेको सत्ता अनमोल देखीराख्या मान्छे । गन्थन गरेर छोटालाई लामा बनाउने अन्धसंस्कार किन भनौँ । यसैको नमुनामा स्वाद वेस्वाद वेदास भट्याऔँ । मृत सञ्जीवनी खोज्न गएका हनुमान्ले विन्ध्याञ्चल पहाड नै उठाएर आफ्ना स्वामी रामचन्द्रलाई चढाएका थिए रे ! त्यही सिको हामीले पनि त गर्दै आएका छौँ । अनि यही यौटा अक्षरहरूको जोडाइ पुर्पुरोको ठोकाइको निचोडाइको पोखाइ नै सर्वकालिक सत्यको नालीबेलीका निमित्त पर्याप्त भएन र ? अझ अर्को पुच्छरै जोड्ने हो भने अन्तमा मलामी बनेर हो कि जन्तीमा पछि लागेका हामी देशी विदेशी मित्रहरूलाई दिएको दानदातव्य र उपहारको बदला तेह्र लिटर जाने जर्किनमा तीन लिटर मट्टीतेल छचल्काउँदै सडक सडक गाउँदै हिँड्न लागेका छौँ ः
वनै खायो डढेलोले
मनै खायो त्यै मोरीको पापी मायाले ।

भैगो, भैगो ! भन्दाभन्दै पनि पघाहाबाट भाले मजूर फुत्किएर फेरि नाच्न थालेको छ यतिखेर । यावत कुरालाई क्याबात भन्दै फेरि समवेत स्वरमा स्वर मिलाउने भूत जागेको छ ‘ओ.जी.एल.’ कै लयदार मसालेदार कुराको । भेडा बोकाले नुन ओसार्ने देशमा अत्याधुनिक मोटरकार झिकाएर मालामाल बन्ने ठूलाठालुको होड चल्न थाल्यो र थोरबहुत जम्मा हुँदै गरेको महँगो डलर हाकिम र व्यापारी मिलेर विदेश फिर्ता पठाउने सत्कार्य र तीनबेते आमाजूका छथरी टुनामुनादेखि लिएर घुसखोर र तस्करहरूका छोराछोरीका बिहेसम्मका रैरवाफले सबैतिर छ्यापछ्याप्ती पसेका छन् अवधूतहरु यदुवंशी मुसलको रूप लिएर ।

हँसाउन त बेजातलाई बोलाएर देशलाई घात पु¥याउनेको पाउ मुसार्नेदेखि के के जाती गरेर फँसाउनेका छोरा नातिहरूले पनि हँसाएकै छन् । हाँसो लेख्ने भनेर लक्कु सोहर्नेका गुनासोहरू पनि छापिएकै छन् । तर तत्कालीन समाजको बानीबेहोराको पासा गठिलो पारामा बेरेर झटारो बाँध्ने दुई चारमध्ये दर्बिलो औँला बनेर दौडिने मङ्कीस्टेट याने बानरराज्य’ का डोकाबुद्धि नरेन्द्रराज पौडेल जस्तो अर्को भेटिन्न । सफोसाफ खसोखास भन्नै पर्छ,– यस्तो लेखोट हतपत मेटिन्न । लाग्छ उनी पुरानो पुस्तालाई उछिनेर बाइपङखे घोडा कुदाउँदै नयाँ पुस्ताका नाइके बनेर छाड्तोस कस्नेमा परेका छन् । यी तपसीलका कुराहरूमाथि सितन खोज्नै पर्ने भएर यस पल्टचाहिँ गलैंचाअनुसार पाउपोष लगाउने बान्की देखाइयो । अरूलाई खान्की खुराक नमिलेपनि समालोचनामा अलिक नयाँपन पनि त हुनु पर्‍यो नि भन्ने लागेरै यी सब बाउँठ्याइँ पस्किने हठ गरिएको हो, चाइने जो !