अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

डालसमा सोइ ढोले सोइ

बिआरटीनेपाल २०७८ पुष ६ गते १५:१६ मा प्रकाशित

डालस । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सस च्याप्टरले आइतबार सकेला उद्यौली कार्यक्रम गरेको छ । कार्यक्रममा टेक्सासमा बसोबास गर्ने राई र अन्य नेपाली समुदायको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन न्यु योर्कबाट टेक्सस पुगेका केआरएसएका केन्द्रीय अध्यक्ष रामकुमार राईले सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरे । ‘केआरएसएले साकेला जस्ता सांस्कृतिक कार्यक्रममार्फत किरात राई समुदायको संस्कार, संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्न भूमिका खेल्दै आएको छ,’ उनले भने, ‘न्यु योर्कमा भएको ब्लड इमर्जेन्सीमा केआरएसले ब्लड ड्राइभ कार्यक्रम राखेर सहयोग गर्दै आएका छौं।’ उनले किरात राई समुदायका लागि चुल्हो घर (माङखिम) स्थापना गरी सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने बताए ।

केआरएसएका केन्द्रीय निवर्तमान अध्यक्ष चन्द्रकुमार राईले राई समुदायको संस्कार संस्कृति प्रवर्द्धन र सम्बद्र्धन गर्ने उद्देश्य केआरएसएले अमेरिकामा साकेला सुरु गरेको बताए । ‘अमेरिकामा साकेवा (साकेला) सुरु गर्ने केआरएसए पहिलो संस्था हो,’ उनले भने, ‘केही साथीहरू पद नपाएर र भनेजस्तो नभएर केआरएसए नो मोर भन्दै अर्को संस्था खोल्नु भयो र साकेवा गर्न थाल्नुभयो ।’ उनले संख्यात्मक उपस्थितिका हिसाबले अमेरिकामा राई समुदायको दुई वटा संस्था उपयुक्त नभएको भन्दै केआरएसले ४ पटक संस्था एकताको प्रयास गरेको पनि बताए । ‘संस्था एकताको प्रयास सफल भएन । उहाँहरू मिटिङमा समेत आउनु भएन । उल्टो हामीलाई दोष लगाएर हिँड्नुहुन्छ ।’

निवर्तमान अध्यक्ष राईले प्रवृत्तिका हिसाबले राईहरू विभिन्न आकारको भएको बताए । ‘कोही राई ट्रायङ्गल आकारको हुनुहुन्छ । कोही स्क्वायर आकारको हुनुहुन्छ । कोही पेन्टागन कोही अक्टागन आकारको हुनुहुन्छ । सम्पूर्ण आकारका राईहरू छौँ । कोही चाहिँ आकार परिवर्तन गरिरहने खालका पनि छौँ । एउटै आकारको बनाउन सकिँदैन,’ उनले भने, ‘तर, उहाँहरू केआरएसएसँग कम्पिटिसन गरेर हिँड्नु भएको छ । केआरएसए कम्पिटिसन नगरिचुप लागेर बसेको छ । हाम्रा टेक्सस च्याप्टरका साथीहरू पनि आफ्नो उद्देश्यमा केन्द्रित भएर काम गर्नुहोला ।’युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले हालै टेक्सासमा सङ्गठन बिस्तार गरी साकेला उद्यौली कार्यक्रम आयोजना गरेको थियो । त्यही पृष्ठभुमिमा केआरएसएका निवर्तमान अध्यक्ष राईको अभिव्यक्ति आएको हो ।

केआरएसए केन्द्रीय सल्लाहकार मणि बाङ्देलले राई समुदाय संस्कार संस्कृति फैलाउँदै स्थापनाकालदेखि संस्थामा संलग्न रहेको बताए । ‘संस्कार संस्कृति हामी सँगै सकिएर नजाओस् भनेर यो संस्था स्थापना गरेर प्रवर्द्धन सम्बर्धनको काम सुरु गरेका हौँ,’ उनले भने, ‘हामीले विभिन्न खाले प्राकृतिक प्रकोपको चपेटामा परेका मानिस र जेहेन्दार विद्यार्थीलाई अध्ययनमा पनि सहयोग गर्दै आएका छौँ ।’

कार्यक्रम केआरएसए टेक्सस च्याप्टर अध्यक्ष दिलीप राईको सभापतित्वमा भएको थियो । टेक्सासका प्रतिष्ठित व्यवसायी रहेका च्याप्टर अध्यक्ष राई किरात राई विद्यार्थी सङ्घका संस्थापक महासचिव हुन । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका राई करिब दुई दशक अघि अमेरिका आएका हुन् । कार्यक्रममा केआरएसए टेक्सस च्याप्टर उपाध्यक्ष सिर्जना राई मगर सङ्घ अमेरिका टेक्सस च्याप्टर अध्यक्ष भुवन आले, तामाङ समाज अमेरिका टेक्सस च्याप्टर अध्यक्ष सूर्यकुमार मोक्तान, याक्थुङ चुम्लुङ प्रतिनिधि अमर सेनिहाङ र एलबि सुब्बा मन्तव्य राखेका थिए ।साकेला नाच किरात राई रित अनुसार पूजा गरी उद्घाटन गरिएको थियो । नाचका सिलिमाङ्पा प्रजन राई, सिलिमाङमा रुपा राई मूल ढोले भुपाल राई थिए ।

साकेलालाई राईहरूले साकेवा, साकेन्वा आदि थुप्रै नामले चिन्छन् । यो किरात राई समुदायको सबैभन्दा ठुलो चाड हो । प्रकृतिको पूजा गर्ने राई समुदायको साकेला वर्षमा दुई पटक मनाइन्छ । साकेला कृषि र मौसमसँग जोडिएको छ । मंसिरे पूर्णिमामा मनाइने साकेला लाई उद्यौली भनिन्छ । उद्यौली बाली भित्र्याएपछि गरिन्छ । बैशाखे पूर्णिमामा मनाइने साकेलालाई उभौली भनिन्छ । नयाँ खेती सुरु गर्ने बेला बाली नाली सप्रियोस् भन्ने कामनासहित उभौली मनाइन्छ । साथै, चिसो छल्न लेखबाट बेँसी झर्ने, र गर्मी छल्न बेँसीबाट लेख निस्कने परम्परासँग पनि साकेलालाई जोडिन्छ ।

प्रतिक्रिया