अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

काँग्रेसको सहमहामन्त्री तर्फ ७ जनाको नतिजा आयो

बिआरटीनेपाल २०७८ पुष २ गते ७:३५ मा प्रकाशित

नेपाली काँग्रेसको बिभिन्न पदको नतिजा आउने क्रम जारी रहेको छ । केहीबेर अघि सकिएको गणनामा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर सहमहामन्त्री निर्वाचित हुनुभएको छ । शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मत प्राप्त गर्नुभयो ।

फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । यस्तै, नेपाली काँग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार किशोरसिंहले २५७६ मत प्राप्त गर्नुभयो भने देवराजले २५५९ मत प्राप्त गर्नुभयो ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । यस्तै, पिछडिएको क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित हुनुभएको छ । मतगणनामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित हुनुभएको हो । यसअघि काँग्रेसको सहमहामन्त्रीमा महिला तर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार तथा आदीवासी जनजातीतर्फबाट भिष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । अब एक जना सहमहामन्त्री निर्वाचन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू