अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

अमेरिकामा गाडी दुर्घटनामा परेर नेपाली युवाको निधन

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ११:१५ मा प्रकाशित

प्रवासमा अकल्पनीय अनि दुःखद घटनाका कारण ज्यान जाने क्रम बढ्दो छ। अमेरिकाको बाल्टिमोरमा यस्तै घटेको छ।

प्राप्त जानकारी अनुसार गाडी दुर्घटनामा परेर एक नेपाली युवाको निधन भएको हो । उनी नेपालमा म्याग्दी ज्याम्रुक कोट घर भई हाल मेरिल्यान्ड राज्यको बाल्टीमोरमा श्रीमती, एक छोरा र एक छोरी सहित बसोबास गर्दै आएका ३१ वर्षीय सुनिल बराइली रहेको समाजसेवी राज सेन्चुरीले जानकारी दिएका छन्।

डिसेम्बर १०, २०२१ शुक्रवार राती साढे १२ बजेतिर विपरीत दिशा तर्फबाट वेगमा आएको गाडिले ठक्कर दिँदा बराइलीको घटनास्थलमै देहावसान भएको बुझिएको छ । उक्त घटनाको बारेमा बाल्टीमोर काउन्टी फायर फाइटर्सको अफिसियल पेजद्वारा ट्विट गरिएको थियो। पारिवारिक सदस्यहरू मध्येका एकको जानकारी अनुसार शुक्रवार राती खानपिन गरेर सुनिल उबर चलाउन गाडी लिएर काममा निस्किएका थिए। राती नै उनको दुर्घटनामा निधन भयो।

अर्को दिन बिहान प्रहरीले घर मै आएर सुनिलको निधनको दुखदायी खबर सुनाएको थियो। झन्डै एक दशक अगाडी अमेरिका आएका सुनिलले कागज पत्र मिलाएर गत वर्ष मात्र श्रीमती र छोरा छोरी अमेरिका ल्याएका थिए।

“काम गर्न गएको परिवारको सदस्य अर्को दिन काम सकेपछि घर आउला भनेर पर्खिरहेको परिवारलाई प्रहरीले निधनको खबर सुनाउँदा कस्तो हाल भयो होला?” समाजसेवी तथा नासोका केन्द्रीय अध्यक्ष राज सेन्चुरीले दुखी हुँदै भने। अहिले आफूहरू बराइलीको परिवारलाई सहयोग गर्ने काममा जुटेको पनि सेन्चुरीले बताए। नेपालमा बाबा आमालाई खबर भइसकेको पनि सेन्चुरीले बताए ।

बराइली एक मेहनती र सबैसंग मिल्ने सहयोगी युवा रहेको उनका साथीहरू र छिमेकीहरू बताउँछन्। नेपलिज डायस्पोराबाट

प्रतिक्रिया