अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

नेपाली काँग्रेस महाधिवेशनमा केन्द्रित, नेताहरू आपसी छलफलमा व्यस्त

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५४ मा प्रकाशित

नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा केन्द्रीत बनेको छ । पार्टी नेतृत्वमा आउन चाहेका शिर्ष नेताहरू छलफल र गुटगत भेलामा व्यस्त भएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफू निकट नेताहरूलाई बोलाएर छलफल गर्नुभएको छ । सभापति तथा प्रधानमन्त्री देउवाले आफू निकटका नेताहरूको आकाङ्क्षा बुझ्नुभएको छ भने केहीलाई उम्मेदवार उठाउने आश्वासन दिनुभएको छ ।

सभापति देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा बालकृष्ण खाँणलाई उठाउने तयारी गर्नुभएको छ भने महामन्त्रीका आकाङ्क्षी विश्वप्रकाश शर्मालाई भने सहमहामन्त्री बन्न आग्रह गर्नुभएको छ । तर, खाँणसँगै प्रकाशशरण महत र एनपी साउदले पनि महामन्त्रीको दाबी गरेका छन् । सभापति देउवाले प्रदेशगत रुपमा उम्मेदवार टुङ्ग्याउन पनि निर्देशन दिनुभएको छ ।

सभापति देउवाले बोलाउनुभएको बैठकमा काँग्रेस उपसभापति विमलेन्द्र निधि भने उपस्थित हुनुभएन । निधिले पनि सभापतिमा उठ्ने बताइसक्नुभएको छ । अर्कोतिर सभापतिमा साझा उम्मेद्वार तय गर्न केही दिनदेखि निरन्तर छलफलमा रहेका सस्थापन इतर समुहका नेताहरूले भने साझा उम्मेद्वार छान्न सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला लगायतको बैठक निरन्तर रूपमा बसिरहेको भएपनि कसलाई सभापति बनाउने भन्ने टुङ्गो भने लाग्न सकेको छैन ।

सस्थापन इतर समुहका जिल्ला तथा प्रदेशका नेताहरूले भने साझा उम्मेद्वार तय गर्न र मिलेर अगाडी बढ्न शिर्ष नेताहरूलाई सुझाव दिएका छन् । पर्सिबाट सुरू हुने महाधिवेशनबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, १ कोषाध्यक्षसहित १ सय ६८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू