अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

राष्ट्रिय सभा चुनावको कार्यतालिका स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ७:०३ मा प्रकाशित

निर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ ।स्वीकृत कार्यतालिकाअनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्नेछ । यस्तै पुस १७ गते मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नाे नाम सच्याउन दरखास्त दिने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

यस्तै पुस १८ र १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुनमा समयावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो । चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । एक जना प्रदेश सांसदको मत भार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मत भार १८ रहेको छ । राष्ट्रिय सभा चुनावमा एमालेबाहेकका दलले गठबन्धन गर्ने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू