अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

मङ्सिर २३ देखि ’किम्फ’ शुरु हुने, २८ देशका ६० भन्दा बढी चलचित्र देखाइने

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३७ मा प्रकाशित

काठमाण्डौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औँ संस्करण यही मङ्सिरको तेस्रो हप्ता हुने भएको छ । हिजो आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।

किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेशन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । यो वर्ष किम्फमा एउटा विधा ’जलवायु कर्म’ राखिएको बताइएको छ ।

किम्फको उद्घाटनका लागि भारतका वातावरणविद् सोनम वाङ्चुक आउनुहुने भएको छ । महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरू किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई दुई लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया