अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

जनकपुरमा विवाह पञ्चमीको रौनक – तिलकोत्सव मनाइयो

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३५ मा प्रकाशित

श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार जनकपुरमा तिलकोत्सव मनाइएको छ ।जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा साधु सन्त र श्रद्धालुहरूको बीचमा राम र जानकीका अभिभावकका रूपमा रहेका महन्तहरूले सम्धी मिलन गरी तिलकोत्सव मनाइएको हो ।

भगवान श्रीरामको अभिभावक राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ बाबा राम गिरी र माता सीताको अभिभावक राजा जनकको भूमिकामा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सम्धी मिलन गरेका हुन् । तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट २ सय ५१ वटा पाहुर राम मन्दिर पुर्याइएको थियो ।

तिलकोत्सव कार्यक्रम राखिएका ती पाहुर सामाग्री प्रसाद स्वरुप उपस्थित श्रद्धालुहरूलाई बाँडिएको थियो । मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रममा गाइने गीत र दुलहीपट्टीलाई दिइने गालीसमेत गायन गरिएको थियो ।सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

त्रेतायुगमा भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मंसिर शुक्ल पञ्चमी तिथिका दिन हर्षोल्लास एवं धूमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइदै आएको छ । विवाह पञ्चमी महोत्सवमा नेपाल भारतका लाखौं श्रद्धालु उपस्थित हुँदै आएका छन् । प्रदेश २ सरकारले राम जानकी विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू