अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

नेपालमा तत्काल लकडाउनको सम्भावना छैन, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरौँ – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३१ मा प्रकाशित

नेपालमा तत्काल लकडाउनको सम्भावना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त भइरहेको बेलामा स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउनको सम्भावना नरहेको बताएको हो ।

नेपालमा २ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै लकडाउन हुने हल्ला बजारमा व्यापक भएपछि स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बता तत्काल लकडाउन हुने सम्भावना नरहेको बताउनुभयो। लकडाउनलाई लिएर हाल सरकारले कुनै पनि निर्णय नगरेको उहाँको भनाइ छ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ।

एन्टीजेन परीक्षणमा पोजेटिभ फेला परेका नमूनाहरुको संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको डा अधिकारीले बताउनुभयो । नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाइएको उहाँले बताउनुभयो।

विगतमा जारी भएका जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले सर्वसाधारणमा आग्रह समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू