अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

प्रदेश २ को कांग्रेस अधिवेशन महाधिवेशनपछि मात्र हुने

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:२३ मा प्रकाशित

नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र गर्ने भएको छ ।प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको बताउनुभयो ।

सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरू भएकाले केन्द्रीय महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन गर्ने सहमति भएको संयोजक रिजालले जानकारी दिनुभयो ।

प्रदेश २ अन्तर्गत सर्लाहीका ४ वटै क्षेत्र, सप्तरीको १ र रौतहटको १ निर्वाचन क्षेत्रबाट मतदाताहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त नभएको र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय अधिवेशन पनि रद्द भएकाले अधिवेशन सर्वसहमतिले स्थगित गरिएको हो ।

कांग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । रौतहटका सभापति कृष्णा यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू