अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

नेपालमा पहिलोपटक भित्रियो कोरोनाको ‘ओमिक्रोन’, सङ्क्रमित दुबै जना चिकित्सक निगरानीमा

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:१९ मा प्रकाशित

नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ उपपरिवर्तित स्वरुप ‘ओमिक्रोन’ फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ स्वरुप फेला परेको मुलुकबाट नेपाल भित्रिएका व्यक्ति र उनको सम्पर्कमा आएका थप एक जना गरी दुई जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भएको छ ।

मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी गत मङ्सिर ३ गते एक जना ६६ वर्षका विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको बताएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले ती व्यक्ति नेपाल आउदा नियमानुसार पिसिआर परीक्षणमा कोरोना नदेखिएको र कोरोनाविरुद्धको खोपको मात्रा पनि पूरा गरेको बताउनुभयो ।

उहाँले ती व्यक्तिसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षका व्यक्ति र स्वयं आफैलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखा परेपछि पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । मङ्सिर १९ गते पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले बनाएको नियम अनुसार ती नमूनाको जिन सिक्वेन्सिङ गरिएको र दुबै जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको डा.अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । सङ्क्रमण पुष्टि भएका दुबैजनामा कुनै गम्भीर लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनुभयो । साथै उहाँले ती व्यक्तिहरूको सम्पर्कमा आएका थप ६६ जनाको पनि कोरोना परीक्षण गरिएको र सबैको रिपोर्टमा कोरोना नभएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू