अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पायो

बिआरटीनेपाल २०७८ मंसिर १९ गते ६:४९ मा प्रकाशित

चरम आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका वित्तीय सल्लाहकार शैकत तरिनले हिजो शनिवार साउदी अरबबाट तीन अर्ब डलर ऋण सरकारी खातामा जम्मा भएको पुष्टि गर्नुभएको बीबीसीेले जनाएको छ ।

शौकत तरिनले ट्वीट गर्दै भन्नुभएको छ, ‘म यो सहयोगका लागि साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र र साउदी अरबलाई धन्यवाद दिन्छु ।’ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएको महिनाको २४ तारिखमा आफूसँग देश चलाउनका लागि पैसान नभएको र ऋण बढिरहेको बताउनुभएको थियो ।

महँगी, विदेशी मुद्राको न्यून सञ्चिती, चालु खाताको अत्यधिक घाटा, मुद्राको अवमूल्यन लगायतका कारण पाकिस्तान आर्थिक सङ्कटमा फसेको छ । साउदी अरबबाट पाकिस्तानले चार प्रतिशत ब्याज दरमा ऋण प्राप्त गरेको हो । ऋण पाएपछि पाकिस्तानको विदेशी मुद्रा सञ्चितीमा केही राहत मिल्ने र शेयर बजारमा पनि केही सुधारको अपेक्षा गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) बाट पनि ६ अर्ब डलर ऋण लिने प्रक्रिया थालेको छ । यसका लागि पाकिस्तानले आईएमएफले भनेअनुसार आर्थिक नीति परिवर्तन गर्न लागेको खबरमा उल्लेख छ । पाकिस्तानको विदेशी ऋण बढेर ३० हजार खर्ब पुगेको छ । समयमै ऋण तिर्न नसक्दा कैयौँ देश र संस्थाले पाकिस्तानलाई थप ऋण नदिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू