अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन डिसेम्बर ५ मा, प्रधानमन्त्री प्रमुख अतिथि

कृष्ण के.सी. २०७८ मंसिर १८ गते १९:४३ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ५, २०२१ बिहान ९:०० बजे न्यु योर्क समयमा जुममा सुरु हुने भएको छ।

समितिका सभापति तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य (आमन्त्रित) आनन्द विष्टले दिएको सूचना अनुसार उद्घाटन सत्रका प्रमुख अतिथि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्। त्यसै गरी अन्य अतिथिहरूमा महामन्त्री डा शशाङ्क कोइराला, सह महामन्त्री डा प्रकाश शरण महत, केन्द्रीय सदस्य वीर बहादुर बलायर, जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, केन्द्रीय प्रतिनिधि नारायण सुवेदी, नेता नैन सिंह महर रहेका छन्।

यस पूर्व हिजो राति नेपाली काँग्रेस पार्टीले एक पत्र लेखेर जनसम्पर्क समिति अमेरिकालाई अधिवेशन डिसेम्बर ५, २०२१ मा गर्न निर्देशन दिएको छ। पार्टीको विधान अनुसार यो अधिवेशन सम्पन्न नगरे महाधिवेशन प्रतिनिधि चयन हुने छैन। पार्टीको पत्रमा नवीकरण ३९५ र नयाँ २०६६ गरी जम्मा २४६१ जना क्रियाशील सदस्य रहेको उल्लेख गरिएको छ।

सभापति विष्टले सामाजिक सञ्जालमा पोस्ट गरेको सूचना यस्ताको तस्तै:
नेपाली जनसम्पर्क समिति,अमेरिकाका आम सदस्य एवं शुभेच्छुक साथीहरू, जय नेपाल !
अत्यन्त छोटो र अन्तिम घडीमा हामी तपाईंहरुलाई अधिवेशनमा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ। नेपाली काँग्रेसको विभिन्न तह र निकायमा रही काम गर्दै हाल अमेरिकामा रहनु भएका सबै जिम्मेवार साथीहरू, नेपाली जनसम्पर्क समिति,अमेरिका स्थापनाकालदेखि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका अग्रज साथीहरू, पूर्व महाधिवेशन र महासमिति सदस्यहरू, जनसम्पर्क समिति अमेरिका केन्द्रीय समिति र च्याप्टर समिति अनि क्रियाशील सदस्य साथीहरूसहित सबै तहका सदस्य मित्रजन एवं अमेरिकास्थित आम काँग्रेस शुभेच्छुक र शुभचिन्तक अग्रज एवं सदस्य साथीहरूलाई नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यमा हुने भोलिको अधिवेशन उद्घाटन समारोहमा सहभागिताका लागि नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट हार्दिक आमन्त्रण गर्दछु।

मिति: डिसेम्बर ५, २०२१ आइतबार
समय: बिहान ९:०० बजेदेखि (न्यूयोर्कको स्थानीय समय) साँझ ७:४५ बजेदेखि (नेपालको समय)
जय नेपाल
आनन्द विष्ट
सभापति, नेपाली जनसम्पर्क समिति एवं आमन्त्रित केन्द्रीय सदस्य, नेपाली काँग्रेस
डिसेम्बर ४, २०२१

सम्बन्धित सामग्रीहरू