अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 19:12

भाग्य

गोपीराम भण्डारी (जी राम बटुवा) २०७८ मंसिर १८ गते १९:२८ मा प्रकाशित

नानीलाई ज्वरोले सारै च्याप्यो। उसको बाबुलाई तास बाहेक अरू मतलब छैन । एक्लै जाँउ शारदा बढेको छ । निराश हुँदै गहभरि आँसु लिएर भकारो सोहोरी रहेका ससुरालाई भनिन् । नातिनीको टाउको छाम्दै “ओहो ! यता ज्वरो चढेको छ, उता नदी बढेको छ, भित्र भित्रै तिम्रो मन डढेको छ”। लामो श्वास तानेर- जानु कसरी? मलाई नदी तराइदिनुस्, म मेरै माइतीलाई लिएर जाउँला बुहारीले सुझाइन ।

बेला बखत विचारै नगरेर हिँड्नु राम्रो होइन । जिद्दी नगर, बरु पानीपट्टी गरिदेऊ। नदीको बहाव कम भएपछि जाउँला । आत्तिनु हुँदैन, भाग्यमा जे छ त्यो भोग्नु पर्छ । “छोरी मेरी, हजुरलाई नि के मतलब ! बुहारीको कटु वचनले ससुरालाई हिड्न बाध्य बनायो । लत्ताकपडाको पोको ससुराले काँधमा हाले । बिरामी छोरीलाई काँधमा राखी बुहारी पछाडि लागिन् । उन्मत्त शारदा किनारा भत्काउँदै तीव्र वेगमा बग्दै थियो । नातिनी काँधमा राखेकी बुहारीको हात समाउँदै ससुराले दुई तिहाइ नदी तरिसकेका थिए । दैवको लीला, बुहारीको खुट्टा ढुङ्गामा चिप्लियो । घच्याक्क गर्दै नातिनी पानीमा खसिन् ।

छोरी समाउन बुहारीले पनि ससुराको हात फुत्काएर छोरी तिरै हाम फालिन । ए ! ए ! भन्दाभन्दै पानीले बगायो । ससुरा बा पनि बुहारी र नातिनी तिरै हाम फाले । अफसोस ! भुमरीले बेपत्ता पार्‍यो । जसोतसो नदी तरेका बुढाले किनारामा पो लग्यो कि भन्दै किनारा भरी चार घण्टा खोजिरहे । न त लास नै फेला पर्‍यो, न त बाच्ने आस नै बाँकी रह्यो । उदास , हताश र निराश बुढाको “न रह्यो बास, न बज्यो बाँसुरी, थुक्क भाग्य ! मेरो जीवनको के अर्थ भन्दै लगाएका कपडा खोलेर किनारामा चिनो छोडी नदीमा हाम फाले । सारदाले सबैलाई लुकाइन । बुढाका कपडाले नदी किनाराबाट तीनै जनालाई अनवरत चिहाई रह्यो तर उठाउन कोही आएनन् ।


तुलसीपुर दाङ…

प्रतिक्रिया