अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

एमसीसी बैठकः नेपाल सम्झौता पनि मुख्य एजेन्डा, डिसेम्बर १४ मा एमसीसी बोर्ड अफ डाइरेक्टरको बैठक बस्दै

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:१० मा प्रकाशित

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई छिटो टुंग्याउन अमेरिकाले दबाब देखाइरहेका बेला यही डिसेम्बर १४ मा एमसीसी बोर्ड अफ डाइरेक्टरको बैठक बस्ने भएको छ ।आगामी बैठकमा एमसीसीसम्बन्धी अहिलेसम्म भएका प्रगति विवरणका साथै नेपालसँगको सम्झौताका बारेमा पनि छलफल हुने भएको छ । भर्चुअली हुने बैठकको एजेन्डामा नेपालसँगको सम्झौतालाई पनि राखिएको छ ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले केही दिनअघि सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता स्वीकार गर्ने वा नगर्ने अधिकार नेपाल सरकार र संसद्मा निहित रहेको प्रस्ट पार्नुभउको थियो । उहाँले सम्झौता कार्यान्वयनमा लाने÷नलाने निर्णय भने छिटो गरिदिन नेपाली पक्षसँग आग्रह गर्नुभएको थियो ।

डिसेम्बर १४ अर्थात मंसिर २८ गते नै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदन बोलाउनुभएको छ । यद्यपि संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव लगिने÷नलगिने भन्नेबारे भने सरकारले केही स्पष्ट पारेको छैन् ।

अमेरिकी सहायक विदेशमन्त्री लुसँगको भेटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्झौता अनुमोदन गर्ने बताउनुभएको थियो । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति गरेर अघि बढ्ने बताउनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरूसँग एमसीसीबारे सरकारले कुनै छलफल नगरेको बताउनुभएको थियो । अमेरिकाले भने नेपालले तत्काल एमसीसीबारे टुंगो नलगाए अन्यत्रै लैजाने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू