अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 20:30

मृतक म

युवराज मैनाली २०७८ मंसिर १५ गते १९:२० मा प्रकाशित

लघुकथा

स्थानीय सरकार गाउँ गाउँमा, सिंहदरबार नगरपालिकामा ! घरजग्गा कर तिर्ने पालोमा उसले नागरिकता, लालपुर्जा र पैसा सँगै बुझायो । निकै बेरपछि: यो नाममा त कुनै जग्गा नै छैन त बा ! “काम गर्न सक्दिन बाबै अधिया दिएको छु” । हैन हैन बा, तपाईँले कुरा बुझ्नु भएन यो लालपुर्जामा भएको कित्ता नम्बरको जग्गा अर्कैको नाममा छ । मालपोत कार्यालयमा गएर बुझ्नुस् – कर्मचारीले उसलाई बाटो देखायो ।

ऊ मालपोत कार्यालय पुग्यो । मालपोतको मोठ पल्टाइयो । जग्गा अर्कैको नाममा नामसारी भएको फेला पर्‍यो । कर्मचारीले सबै कागजात र वृद्धलाई लिएर हाकिमकोमा पेस गर्‍यो । अध्ययनपछि हाकिमले बुढाको आँखामा हेरे र लामो श्वास फेरे। हाकिम उदास देखेर बुढाले के भयो नानी भनेर प्रश्न गरे ? बस्नुस् बा ! यहाँ त तपाईँको मृत्यु भइसकेको छ । हकवालाले जग्गा नाममा गराइसकेछन् । यी तपाईँको मृत्यु सनाखत प्रतिवेदन, मृत्यु दर्ताको प्रमाण पत्र, सरजमिन मुचुल्का, जिल्ला प्रशासनको सिफारिस, पैँतीस दिने सूचना प्रकाशित पत्रिका- पाना फर्काउँदै हाकिमले देखाए । “अब क्यारम् त नि म” ? सिडिओ कार्यालय जानुस् । मालपोतका हाकिमले टाउको पन्छाए ।

हातमा कागजको मुठो समातेर – सर नमस्कार, “म मरेको मान्छे” !!! के भन्नु भएको ? तपाईँको समस्या के हो ? “मेरो होइन, तपाईँको समस्या, म मृतक हो ,मृतक ! बुझ्नुभयो” – बुढा कड्किए । घण्टी बज्यो, तत्कालै अर्को कर्मचारी प्रवेश गर्‍यो । सिडिओ साहेबले बुझ्न लगाए । कागजातमा निकै बेर मुन्टो घुसाएका कर्मचारीलाई थर्काउँदै के भएको हो? डराउँदै सानो स्वरमा – हो नि हजुर, हजुरकै निर्देशनमा कागजात तयार भएका हुन्। हजुरको हस्ताक्षर भएको पत्र पनि छ । हजुरले बिर्सिबक्सियो कि- कर्मचारीले चाकडी गर्‍यो । छाँगाबाट खसेजस्तै गरी “के भन्नुहुन्छ तपाई” सिडिओ साहेबले कर्मचारीको आँखामा हेरेको हेरेकै भए ।