अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

राप्रपाको महाधिवेशन सुरू, प्रधानमन्त्रीसहित विभिन्न दलका शिर्ष नेताद्धारा उद्घाटन सत्रलाई सम्बोधन

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट सुरू भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आज एक समारोहका बीच महाधिवेशनको उद्घाटन गरिएको छ । महाधिवेशनको उद्घाटन गदै राप्रपाका अध्यक्ष कमल थापाले भने एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताउनुभएको छ । थापाले पार्टीको मुल्याङ्क गर्नका लागि एउटा चुनाव मात्र पर्याप्त नहुने बताउनुभएको हो । चार वर्षअघि पार्टी तीन टुक्रामा विभाजन हुनुमा आफू नैतिक जिम्मेवार भएको थापाको भनाइ छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित विभिन्न दलका शिर्ष नेताहरू सहभागी भएर सम्बोधन गरेका छन् । महाधिवेशनमा सम्बोधन गदै प्रधानमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितका पक्षमा सबै दलहरू मिलेर अगाडि जानुपर्ने बताउनुभएकोे छ । उहाँले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि दिनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आफू गणतन्त्रवादी, धर्म निरपेक्षतावादी भएको भन्दै राप्रपासँग आफ्नो मत नमिल्ने बताउनुभएको छ । तर राजनीतिक अस्थिरता नहोस् भनेर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले राप्रपाको प्रशंसा गर्नुभयो ।

सम्बोधनका क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राप्रपा लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढ्न पनि सुझाव दिनुभयो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपासँग सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताउनुभएको छ । उहाँले विगतमा कुरालार्ई बिर्सिएर मुलुकको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले भने २००७ सालको परिवर्तनदेखि नै नेपालमा विदेशी हस्तक्षेप बढेको दाबी गर्नुभयो । उहाँले राजा महेन्द्रको प्रसंशा गदै राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही नभएको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झाले संविधान जारी हुँदा राप्रपा अध्यक्ष कमल थापा देशको उपप्रधानमन्त्री भएको र आफूहरूसँग वार्ता गर्न बनेको कमिटीको संयोजक भएकाले त्यस बेला भएको सहमति कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ ।

पर्सीसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ४ हजार ३ सय प्रतिनिधि सहभागी भएका छन् । राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू