अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाप्रति निजीक्षेत्र असन्तुष्ट

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१८ मा प्रकाशित

पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले यसलाई नकारात्मक मान्न नहुने स्पष्ट गर्नुभयो ।

डा.महतले मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वाभाविक मान्नुपर्ने पनि बताउनुभयो ।निजी क्षेत्रका संगठनहरुले भने मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिको समीक्षामा भएका व्यवस्थाले निजी क्षेत्र निराश भएको बताउनुभयो ।

अध्यक्ष गोल्छाले कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज मौद्रिक नीतिको समीक्षाले व्यवस्था गर्ने अपेक्षा भएपनि त्यस्तो प्याकेज नआउँदा निजी क्षेत्रमा निराशा छाएको बताउनुभयो । यसले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरमा समेत असर पार्नसक्ने गोल्छाले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश गर्न नसकेको बताउनुभयो । मौद्रिक नीतिको समिक्षाले बजारमा रहेको तरलता हाहाकारको व्यवस्थापन नगर्ने उहाँको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू