अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

“सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि असंलग्न आन्दोलन” – सभामुख सापकोटा

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१० मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभएको छ ।

स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई आज सम्बोधन गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्दै कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि पनि विश्वमा असंलग्न आन्दोलनको आवश्यकता रहेको बताउनुुभयो ।

सकारात्मक नतिजाका लागि हाम्रो संसद्ले त्यसतर्फको राष्ट्रिय प्रयासलाई सहयोग र प्रोत्साहन जारी राख्ने उल्लेख गर्दै सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसद्बाट आशा गरेकोे स्पष्ट पार्दै सभामुख सापकोटाले नेपालको संसद् समझदारी तथा सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न प्रतिबद्ध छ भन्नुभयोे ।

आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका सङ्घ आइपियुको १४३औँ सभालाई सम्बोधन गर्दै उहाँले शासनको सबैभन्दा मनपर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित भने नरहेको बताउनुभयो । आइपियु सम्मेलनमा सहभागी हुन यही मङ्सिर ८ गते स्पेन प्रस्थान गर्नुभएका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू