अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

’हेलो नेपाल’ को अनुमति पत्र खारेज

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ७:०५ मा प्रकाशित

सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमति पत्र खारेज गरेको छ । गएको शुक्रवार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमति पत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गएको कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

बोर्डको निर्णयअनुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो । कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषदबाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले फेरि अनुमति पत्र खारेजीको निर्णय गर्न नसक्ने स्पष्टीकरण पेस गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २०७६ को पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको हो । बोर्डले दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ९३० बमोजिम शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेज गर्ने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू